उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

३ चैत्र २०७९,काठमाडौं- उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा आज भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टी (जसपा) एवम् सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएको थियो ।

यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्यले संघमा १०४ र प्रदेशमा १६९ मत प्राप्त गर्नुभएको छ । जनमत पार्टीर्की ममता झाले संघमा २३ र प्रदेशतर्फ १५  मत प्राप्त गर्नुभयो । यसैगरी, प्रमिला कुमारीले भने प्रदेश सभाका एक सदस्यको मत प्राप्त गर्नुभएको छ ।

यादबकाे जीवनीः शिक्षण पेशा देखि उपराष्ट्रपतिसम्म

करिव ३ दशक लामो राजनीति यात्रासंगै उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादव राजनीतिसंगै शिक्षण पेशामा पनि लामो समय रहनुभयो । करिव २० वर्षको उमेरबाटै मधेशको राजनीतिकमा क्रियाशील यादव २०६४ पछि राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो । जनता समाजवादी पार्टीको महासचिव हुँदै गत पुसमा सर्वसम्मतरुपमा जसपाको संसदीय दलको नेता चयन हुनुभएका यादव आज ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।
उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादवको जन्म २०२७ सालमा बाराको कर्चोवामा भएको हो । यादव स्थानीय विद्यालयबाट एसएलसीसम्मको अध्ययनपछि सितामढी कलेज भारतबाट विज्ञानमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट शिक्षा संकायमा स्नातक हुनुहुन्छ । नेपाल सद्भावना पार्टीमा रहेर २०४७ सालदेखि राजनितिमा सक्रिय यादव २०६४ र २०७० मा तत्कालिन संघीय समाजवादी फोरमबाट संविधानसभा सदस्यमा रहनुभयो ।

गएकाे मंसीरमा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित यादव राजनीतिमा नयाँ नाम नभएपनि धेरै चर्चा नगरिएको नाम हो । राजनीतिक जीवनसंगै करिव १६ वर्ष शिक्षण पेशामा आवद्ध उपराष्ट्रपति निवाचित रामसहायप्रसाद यादव २०६४ सालमा स्थायी शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा लाग्नुभयो । मधेशका पुराना पहिचानवादी नेता गजेन्द्र नारयाण सिंह र त्यसपछि हालको जसपाका अध्यक्ष उपेन्द्र यादवको निकट रहेर निरन्तर राजनितिमा सक्रिय यादव २०६५ सालदेखि जनता समाजवादी पार्टीको महासचिव रहनुभयो । गत पुसमा जसपाको सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन हुनुभयो । निष्ठाको राजनितिमा निरन्तर लाग्नुभएका यादव तत्कालिन सद्भावना पार्टीको विभाजन रोक्न आमरण अनसन समेत वस्नुभएको थियो । त्यसैक्रममा भूमिगतरुपमा काम गरिरहनुभएका तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंग उहाँको भेट भयो ।
त्यसपछि त्यसवेलाको भूमिगत नाम ‘चन्द्रगुप्त’ अर्थात उहाँकै संयोजकत्वमा २०६० सालमा फोरमको वारा जिल्ला समिति गठन भयो । २०६२ मै उहाँ फोरमको केन्द्रीय सदस्य बन्नुभयो । त्यसपछि फोरमबाटै राजनितिमा निरन्तर क्रियाशील यादव २०६४ सालमा संविधानसभा सदस्य भएपनि संविधान नबनेसम्म सरकारमा जानु नहुँने अडानका पक्षधर हरनुभयो । तर उहाँ आवद्ध पार्टी सरकारमा गयो । पार्टी सरकारमा गएपनि उहाँले मन्त्रिपद अस्वीकार गर्नुभयो । २०७४ सालको निर्वाचनमा पनि बारा–२ बाट निर्वाचित यादवले २०७८ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मल नपाउँदा मकै खेतीमा समस्या (फाेटाे फिचर)
Next post करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा