पशु व्यवसायमा गिरावटः पहाडबाट ल्याइने पशुचौपाय घट्दो (फाेटाे फिचर)

७ चैत्र २०७९/बालदिवश तामाङ

कुनै वेला नेपालकै ठूलो भनेर चिनिने झापाको पशु बजारको कारोबार बर्षेनी घट्दै गएको छ । बुधबार लाग्ने हटियामा १ देखि २ हजारसम्म खरिद विक्री हुने पशुबजार पहाडी क्षेत्रबाट पशुचौपाय ल्याउनेक्रम घटेसँगै प्रभावित बनेको छ ।

पाँचथरको सप्तमी बजारबाट हिडाएर गाइबस्तु झापाका बजारमा ल्याउँदा ३ देखि ४ दिन लाग्ने गर्छ । गाडीको बाटो संचालन हुनु अघि हजारौंको संख्यामा ल्याइने गाई बस्तु अहिले सयको संख्यामा पनि ल्याउन छाडिएको छ । तर अहिले घरघरमा गाडीको पहँुच विस्तार भएसँगै यस अघि दमक हटियामा लगिने पशुचौपाय अन्य बजारमा लान थालिए पछि बजार घट्दै गएको लामो समय देखि पशुचौपायको विक्रीमा ठेक्का गर्दै आउनु भएका सानबहादुर खड्गीले बताउनु भयो । खड्गीका अनुसार नेपालकै ठूलो पशुहाट दमकमा एकै दिन २ देखि ३ हजारसम्म गाईबस्तु विक्री हुन्थ्यो । तर विस्तारै पशु बजार सुनसान जस्तै बन्न थालेको छ । हालैको सातामा पहाडबाट ८० वटा हाराहारीमा मात्र गाइबस्तु झारिएको छ । नत्र यस अघि हाटको दिन थामिनसक्नु गरी गाइबस्तु ल्याइने गरिन्थ्यो । कुनै वेला दमकमा पूर्वी पहाडी जिल्लाका दर्जनबढी हटियाबाट पशुचौपाय दमक वजार ल्याउने गरिन्थ्यो । तर पछिल्लो समय आधा भन्दा धेरै संख्यामा गाइबस्तु झार्नेक्रम घटेको छ ।

गएको साता सप्तमीबजारबाट गाई बस्तु झार्दै आउनु भएका माङ्सेबुङ २ का चक्रबहादुर राईका अनुसार ३ रात बाटोमा बास बसेर दमक गाइबस्तु पुर्याइन्छ । विगत बर्षहरुमा बाटोमा गाईबस्तु हिडाएकाले मानिसले बाटो पाउँदैन थियो । तर अहिले फाट्टफुट्ट मात्र गाई बस्तु झार्ने गरेको उहाँले बताउनु भयो ।

पराम्परागत तवरबाट कृषि कार्यका लागि गोरुको प्रयोगबाट खेतबारी जोत्ने गरिन्थ्यो । तर पछिल्लो समय कृषि उपकरणको प्रयोग बढ्दै गए पछि गोरु पाल्ने चलन कम भएकाले पशुव्यवसायमा प्रभाव परेको व्यवसायी गंगा कार्कीले बताउनु भयो । सरकारको झण्डै १४ करोड लगानीमा झापाको दमकमा व्यवस्थित पशुपंक्षी बजार निर्माण गरिएको छ । तर पशु ल्याउने व्यवसायीको संख्या घट्दै गए पछि बजारको कारोवार पनि घट्दै गएको व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त
Next post टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह