मेशिनको प्रयोग बढेसँगै झापामा हिउँदे बाली विस्तार हुँदै (फाेटाे फिचर)
९ चैत्र २०७९/बालदिवश तामाङ
मेशिनको प्रयोगले कृषिमा आधुनिकीकरणसँगै बजारमा माग बढे पछि यस बर्ष झापामा हिउँदे बाली विस्तार भएको छ । हिउँदे बालीको रुपमा गरिने तोरी र फापर खेतीलाई स्थानीय सरकारले समेत प्रोत्साहन गरेकाले खेती विस्तार भएको हो । खासगरी झापाका कमल, भद्रपुर, हल्दिबारी, अर्जुनधारा लगायतका क्षेत्रमा हिउँदे बाली विस्तार हुनेक्रम बढेको छ । मानिसले फापर र तोरीको घरेलु उत्पादनको तेलको महत्व बुझ्दै जान थाले पछि हिउँदे बालीमा गहुँ तथा अन्य खेती छाडेर फापर र तोरी खेतीलाई जोड दिन थालेको किसानले बताएका छन् ।
कृषि यान्त्रिकरणसँगै सरकारको अनुदान समेत उपलव्ध हुन थाले पछि खेतीमा धेरै सहज भएको छ । चाक्लाबन्दी खेती कार्याक्रमले गर्दा पनि पछिल्लो समय हिउँदे बृद्धि भएको १ सय २० विगाहमा सामुहिक खेती गर्दै आउनु भएका गौरादह ७ पाटागाढा चाक्लाबन्दी खेतीका अध्यक्ष गोपाल बजगाँईले बताउनु भयो । बजगाँईको अनुसार यो बर्ष गौरादहका दक्षिणी भूभागमा फापर र तोरी खेती बृद्धि भएको छ ।
राम्रो मुल्य र बजार पाउन थाले पछि हिउँदे बालीमा किसानको आकार्षण बढ्न थालेको हो । बर्षे धान काटे पछि गरिने तोरी, फापर, जै घाँस लगायतको उत्पादनमा पछिल्लो समय किसानले जोड दिन थालेका हुन् । यस बर्ष जिल्लामा तेलहन बाली अन्तर्गत तोरी खेती अझ विस्तार भएको छ । स्थानीय सरकारले समेत प्रोत्साहन अनुदान दिन थाले पछि खेती विस्तार भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अघिल्ला बर्षहरुमा प्रदेश सरकारले समेत अनुदान दिएको र यस बर्ष स्थानीय तहले समते प्रोत्साहन अनुदान दिए पछि फापर तथा तोरी खेती विस्तार भएको हो । फापर उत्पादन गरेर पिठो बनाएर विक्री गर्दा धेरै मुल्य आउने भएकाले फापर खेती गर्नेको संख्या बढ्दै गएको छ । यता तोरी खेती बढ्नुको कारण बजारमा तेलमा मिसावट हुने र स्वास्थ्यमा असर पर्न थालेको भन्ने उपभोक्ताको गुनासोले पनि आफ्नो लागि आफैं तोरी खेती गर्नेको संख्या बढ्दै गएको उहाँले बताउनु भयो ।
यस अघि बाँझो रहने जमिनमा पछिल्लो समय किसानले हिउँदे बालीलाई जोड दिन थालेका छन् । तोरी र फापर खेती मात्रै १ हजार हेक्टर भन्दा धेरै विस्तार भइ हाल झण्डै ८ हजार हेक्टरमा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।