रवि लामिछानेको उम्मेदवारी संवैधानिक नभएकाे उजुरी दर्ता
२१ चैत्र २०७९,चितवन– वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् । तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एउटा उजुरी काठमाडौंबाट ई–मेलमा प्राप्त भएको हो । उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनु पर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपाने जानकारी दिनु भयाे ।
राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दर्ता गराएका जनकराज शर्माका प्रतिनिधि डम्बर पुरीले रवि लामिछानेले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पुर्याइ नागरिकता लिएको तीन महिना पुगेको नदेखिने हुँदा उहाँ उम्मेदवार हुन योग्य छैनन् भन्दै उजुरी (दाबी/विरोध) दर्ता गराउनु भएकाे छ । प्रक्रिया पुर्याएर नागरिकता लिएको नदेखिने भन्दै मुद्दा परेपछि सर्वोच्च अदालतले गत मंसिरमा चितवन–२ बाट विजयी लामिछानेको सांसद् पद खारेज गरेको थियो । सोही कारण चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
अमेरिकी नागरिकता वा स्थायी अनुमति प्राप्त त्यागेको जानकारी गराएपछि लामिछानेले माघ १५ मा नागरिकता लिएको जिकिर पुरीले दिएको उजुरीमा उल्लेख छ । सोही मितिलाई उहाँले अमेरिकी नागरिकता त्यागेको औपचारिक जानकारीका रुपमा लिनुपर्ने उजुरीमा भनिएको छ ।
‘नेपालको संविधानको धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको छ । माघ १५ मा नागरिकता लिएको मितिलाई आधार मान्दा यो अवधि पूरा भएको देखिँदैन,’ उजुरीमा उल्लेख छ । उम्मेदवारी मनोनयन दर्ता गरेपछि सोमबार सञ्चारकर्मीहरुसँग लामिछानेले अदालतको फैसलामा अमेरिकी नागरिकता सन् २०१८ मा त्यागेको देखिने भनेर उल्लेख भएको हुँदा यो विषय निरुपण भएको प्रतिक्रिया दिनु भएकाे थियाे ।