रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)

२६ चैत्र २०७९/डिकेश लामा

झापामा गएको बर्षातमा बाढीले कटान गरेको धेरै जसो क्षेत्रमा यस बर्ष वेलैमा बाँध नलगाएका कारण दर्जनौं बस्ती जोखिममा रहेका छन् । अघिल्लो बाढीले बाँध फुटाएको क्षेत्रमा हालसम्म बाँध निर्माण हुन नसक्दा बस्तीका बासिन्दा बर्षातमा कता भाग्ने भन्ने चिन्तामा छन् । स्थानीय नजरा खातुनका अनुसार हालसम्म बाँध निर्माण नगरेका कारण अव आउने बर्षातमा घर छाडेर हिड्नु पर्ने दिन आएको गुनासो गर्नु भयो ।

बस्तीमा बाढी पसेको क्षेत्रमा अघिल्लो बर्ष लामो समय गौरादह नगरपालिकाका रतुवा खोला किनारा क्षेत्रका मानिसहरु अरुको घरमा शरण लिएर बस्न बाध्य भए । खोला घटेसँगै १ देखि ३ महिनामा घर फर्किका उनीहरु अव फेरि कता जाने भन्ने चिन्तामा छन् ।

बर्षात पछि लगत्तै भएको निर्वाचनमा उम्मेद्वार बनेका जनप्रतिनिधिले भोट दिएर जिताए बाँध निर्माण गर्ने पहिलो एजेण्डा नै बनाएका थिए । तर अहिलेसम्म गौरादह नगरपालिकाको उच्च जोखिम क्षेत्र डुवाटोलीमा बाँध निर्माण नहुँदा यस बर्ष धेरै बस्ती जोखिममा रहेको बस्तीका अगुवा ताजुदिन मियाँले बताउनु भयो ।

ठूलो क्षेत्र र धेरै स्थानमा बाँध फुटाएकाले गएको बर्ष नगरपालिकाको आन्तरिक बजेटले अस्थायी बाँध निर्माण गरियो । तर स्थानीय सरकारको बजेटले नधान्ने भए पछि प्रदेश तथा संघीय सरकारलाई जानकारी गराई बाँध निर्माण गर्न आफूहरुले आग्रह गरेको गौरादह नगरपालिकाका इन्जिनियर गोपाल भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार तल्लो जोखिम टँघुवा क्षेत्रमा जनताको तटबन्ध र सिंचाई कार्यालयको सहयोगमा बाँध निर्माण थालिएको छ । तर यता ठेक्का लागेको डुवाटोली बस्ती क्षेत्रमा भने ठेकेदारकै कारण बाँध निर्माण नभएको बताउनु भयो । डुवुवाटोली क्षेत्रमा आवश्यक एक किलो मिटर भन्दा लामो बाँधको ठेक्का यस अघि नै एशियाली विकास वैंकको ऋण अनुदानमा संघीय सरकारले मैनाचुली निर्माण सेवा कम्पनिलाई ठेक्का दिइ सकेको हो तर ठेकेदारले काम नगरेकाले यस बर्ष बस्ती जोगाउन हम्मेहम्मे पर्ने गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो ।

झापाको गौरादह नगरपालिकामा मात्र गत बर्ष दर्जनौ घर परिवार बाढीका कारण विस्थापित बन्न पुगे । हिउँद लागे पछि बाढीले बगाएको घर मर्मत संभार गरी बसेका उनीहरुले तत्काल बाँध निर्माण गरी बस्ती सुरक्षित गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा ७ स्रष्टालाई जनही ३५ हजार नगद सहित सम्मान (फाेटाे फिचर)
Next post १५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)