ग्रैरभूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक उडाए पछि खाटी भूटानीहरू समस्यामा परेकाे गुनासाे
२३ वैशाख २०८०, काठमाडौं- ग्रैरभूटानीलाई शरणार्थी बनाएर तेस्राे मुलुक उडाए पछि खाटी भूटानीहरू भने विचल्नी परेका छन् । सन् २००७ देखि शुरू भएकाे तेस्राे मुलुक पुनर्वास प्रकृयासँगै शरणार्थीकाे नाममा ग्रैर भूटानीलाई परिचय पत्र दिएर उडाउने गरेकाले खाटी भूटानी शरणार्थीहरू समस्यामा परेकाे शरणार्थी अगुवाहरूले बताएका छन् ।
पूर्व शिविर सचिव टिकाराम रसाइलीका अनुसार आफ्नाे कार्यकालमा तत्कालीन प्रधानमन्त्री केपी ओली देखि गृह मन्त्रालयका पदाधिकारी समेतलाई भेटेर शरणार्थी शिविरमा परिचयपत्र नपाएका १ हजार ७ सय ४९ जनाकाे प्रमाणिकरण गर्न माग गरिएकाे बताउनु भयाे । उहाँहरूले शरणार्थी शिविरमा दर्ता विहीन भएकाकाे नामावली समेत बुझाए पछि सरकार उच्च पदाधिकारी र नेताबाटै शरणाार्थीलाई मागी र ठगी खाने भाँडाे बनाएकाे समेत बताउनु भएकाे छ । बेलडाँगी शरणार्थी शिविरमा लामाे समय देखि बस्दै आउनु भएका खाटी भूटानी खडानन्द भण्डारीका अनुसार आफूले पटक पटक फाेटाे खिच्दा समेत परिचय पत्र नदिएकाले हाल घर न घाटकाे भएकाे बताउनु भएकाे छ । बेलडाँगी २ सेक्टर जी/२ का मधुलाल चापागाँइ पनि यस्तै समस्यामा छन् । बुबा आमाहरूकाे परिचय पत्र बनेर बाहिर गइसक्दा समेत आफ्नाे भने अहिलेसम्म परिचय पत्र नदिएकाे उहाँले बताउनु भयाे । अन्य धेरै भूटानीहरूले आफ्नाे नाममा अरूले समेत फाेटाे खिचाएर तेस्राे देश पुगिसकेकाे बताएका छन् । खाटी भूटानीकाे नाममा अरूले नै फाेटाे खिच्ने र परिचय पत्र बनाएकाे कारण आफूहरूले परिचय पत्र पाउन नसकेकाे अहिले आएर खुलेकाे उनीहरूकाे भनाइ छ । अव सरकारले छानविन गरेर हाम्राे नाममा ग्रैर भूटानीकाे काटेर परिचय पत्र दिन्छ भन्ने आश लागेकाे उनीहरूले बताएका छन् ।
केही दिन यता नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाउन खाेज्ने गिराेह धमाधम पक्राउ पर्न थालेका छन् । अझै पनि १०-११ जना उच्च पदका नेता तथा कर्मचारी पक्राउ पर्न सक्ने जानकारी प्रहरीले दिएकाे छ । जस अनुसार प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी नक्कली भूटानी शरर्णार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उहाँलाई बुधबार पक्राउ पुर्जी जारी भएको थियो । ठगी प्रकरणमा पक्राउ परेकाहरुको बयानका आधारमा रायमाझी र उहाँका छोरालाई पुर्जी जारी भएको हो । रायमाझीका छोरा पक्राउ परिसकेका छन् भने रायमाझी सम्पर्कविहिन हुनुहुन्छ । गत चैत १२ गते पक्राउ परेका सानु भण्डारीको डायरीमा भेटिएको प्रमाण र उनको बयानका आधारमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो ।
रायमाझी सम्पर्कविहिन भएको विषयलाई उच्चस्तरीय राजनीतिक नेतृत्वबीचको भेटघाटसँग पनि जोडेर चियोचर्चा हुँदैछ । खासगरी बिहिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटघाटपछि यसखाले चर्चा शुरु भएको हो । ओलीले भिडियाे अन्तर्वातामा दिएकाे विवादस्पद भनाइले थप प्रहरीलाइ अनुसन्धानमा टेवा पुगेकाे छ । भेटमा उहाँहरुबीच नक्कली शरणार्थी प्रकरणका विषयमा समेत छलफल भएको थियो । छलफलपछि एमाले अध्यक्ष ओलीले दोषीले उन्मुक्ति पाउन नहुने तर निर्दोष फँस्न नहुने भन्दै रायमाझी बाटोमा हिंड्दा हिंड्दै समाउनुपर्ने मान्छे होइन भन्ने प्रतिकृया दिनुभएको थियो ।
बिहिबार नै माओवादी पदाधिकारीको अनौपचारिक बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताउनुभयो । उहाँले नक्कली शरणार्थी बनाउने र गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारले अधिकतम पहल गर्ने पनि उल्लेख गर्नुभयो । प्रहरीले पनि चिया चर्चामा गरिए जस्तो दवाव र प्रभावमा रायमाझी पक्राउ नपरेको भन्ने कुरालाई अस्वीकार गरेको छ । २ महिनाको समय पाएर अनुसनधानमा रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुसनधानको काम सक्न अब करिव १८ दिनको समय मात्र बाँकी रहेकाे जानकारी दिएकाे छ ।