शरणार्थीको नाम वेचेर ग्रैर भूटानीलाई शरणार्थी बनाएर अमेरिका पुर्याएको प्रति खाटी भूटानीको गुनासो (भिडियाे कथा)

भ्रष्टचारमा संलग्न सवैलाई हदैसम्मको कार्वाही गर्न माग

२ जेष्ठ २०८०/डिकेश लामा

पूर्वी नेपालको झापा र मोरङ्गमा बस्दै आएका भूटानी शरणार्थीले आफूहरुको नाम बेचेर भ्रष्टचार गरेको प्रति गुनासो व्यक्त गरेका छन् । शरणार्थी शिविरमा कतिपय परिचय पत्र विहीन बनेर बस्नु परेको अवस्थामा गैरभूटानीहरुलाई शरणार्थीको विल्ला भिराएर अमेरिका पठाउनेलाई कार्वाही गरी समस्यामा परेकालाई सहयोग गर्न उनीहरुले माग समेत गरेका छन् ।

झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर सी ४ घर नम्बर ८५ का ५५ बर्षीय मधुलाल चापागाँई शरणार्थी शिविरमा आएको ३० बर्ष भएको छ । उहाँले शरणार्थीको परिचय पत्र प्राप्तीका लागि सन् २००७ मा १२ जनाको परिवारसँगै फोटो खिचाउनु भयो । ११ जनाले परिचय पत्र पाएर तेस्रो मुलुक पुगि सकेका छन् । तर छानविनमा राखेको मधुलाल भने अझै पनि परिचय पत्र विहीन भएर शरणार्थी शिविरमा बस्न बाध्य हुनु परेको छ ।

चापागाईं जस्तै शरणार्थी शिविरमा अझै पनि धेरै जना परिचय पत्र विहीन भएर कष्टकर जीवन गुजारा गर्दै आउनु परेको छ । सरकारले गैरभूटानीलाई शरणार्थी परिचय पत्र दिएर गरेको भ्रष्टचारले गर्दा कतै आफूहरुको नाम त वेचिएको होइन भन्ने उनीहरुलाई त्रास समेत रहेको छ । सन् १९९० मा राजनैतिक पीडित बनेका भूटानी शरणार्थीहरु २००७ देखि शुरु भएको तेस्रो मुलुक पुनर्वास प्रकृया मार्फत १ लाख १५ हजार भन्दा धेरै विश्वका ८ वटा मुलुकमा पुगिसकेका छन् । तर अझै पनि शरणार्थी शिविरमा रहेका ६ हजार ३ सय ६५ जना शरणार्थी मध्ये कतिपयको परिचय पत्र नभएकाले उनीहरुको भविष्य अन्योल बन्दै गएको छ ।

यसैबीच पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणले खाटी भूटानीलाई समस्या भएको बताएका छन् । भूटानले नेपालमा अव भूटानी छैनन् भनेर गरिरहेको दावीलाई हालै भएको नाम वेच्ने ठगी धन्दाले शरणार्थी समस्या समाधानमा थप समस्या भएको बताएका छन् ।
भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै तत्काल नक्कली भूटानी शरणार्थी प्रकरणका दोषी माथि कडा कार्वाही गरी खाटी भूटानीहरुको समस्या समाधानमा सहयोग गर्न माग गरेका छन् ।
समितिका कार्यबाहक अध्यक्ष तिलक राईले हस्ताक्षर गरेकाे विज्ञप्तीमा हाल शरणार्थी शिविरमा बसोवास गर्दै आएका साढे ६ हजार शरणार्थी र विभिन्न कारणले पञ्जिकरणमा छुटेकाहरुको समस्या समाधानमा कार्य थाल्न माग गरिएको छ । यस्तै ८ महिना देखि परिचय पत्र नविकरण नगरेकाले थप समस्या चुलिँदै गएकाे जनाएकाे छ ।  भूटानी शरणार्थीको नाममा ठूलो रकम भ्रष्टचार गरेकाले खाटी भूटानी शरणार्थीको समस्या समाधानमा वेवास्ता हुने संभावना बढेको शरणार्थीहरुले बताएका छन् ।

यता कानुनका विज्ञका अनुसार शरणार्थी प्रकरणकाे छानविन अन्तराष्टिय स्तरबाटै हुने दावी गरेका छन् । शरणार्थीकाे मुद्दा सँयुक्त राष्ट्रसंघले लामाे समय देखि हेर्दै अाएकाले यसकाे वास्तविक छानविन गर्दा तेस्राे मुलुकमा पुगेकालाइ समेत कार्वाही हुने बताउँदै अाएका छन् । नेपाल उच्च कर्मचारी र पूर्व मन्त्रीहरू समेत संलग्न देखिएकाे भूटानी ठगी प्रकरणमा लामाे समय देखि शरणार्थी शिविरमा ठगी गर्ने गिराेहलाइ समेत खाेजी गरेर कार्वाही गर्नु पर्ने भूटानी शरणार्थी शिविरका अगुवाहरूले माग गर्न थालेका छन् ।

भिडिया कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भूटानी प्रकरणले सक्कली भूटानी शरणार्थीलाई समस्या
Next post दमकमा भएकाे भलिवलले खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त