कोशी प्रदेश नामकरणका विषयमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ५८ जना घाइते

१४ जेष्ठ २०८०,माेरङ– कोशी प्रदेश नामकरणका विषयमा पहिचार पक्षधर र प्रहरीबीच भएकाे झडमा परी अाज ५८ जना घाइते भएका छन् । आइतबार प्रदेशसभाको बजेट अधिवेशन बोलाइएकोमा प्रदर्शनकारीले प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि आक्रमणमा उत्रेपछि प्रहरीले पानीको फोहोरा, हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको थियो । त्यति गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप नै भएको छ ।

झडपमा परी दुवै पक्षका ५८ जना घाइते भएका छन् । नेपाल प्रहरीका ३०, सशस्त्र प्रहरीका १६ र प्रदर्शनकारी १२ गरी जम्मा ५८ जना घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको विराटनगरस्थित कोशी, न्यूरोलगायतका अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादवले जानकारी दिनु भयाे ।  आन्दोलनकारीले आज आइतबार बिहानै निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि ४५ जनालाई नियन्त्रणमा लिइएको थियो। त्यसपछि प्रदेशसभा सुरु हुने समयमा विभिन्न जिल्लाबाट विराटनगर आएका आन्दोलनकारीहरुले देवकोटाचोकमा निषेधित क्षेत्र तोडेर प्रहरीमाथि आक्रमण गर्दै प्रदेशसभा घेराउ गर्ने प्रयास गर्दा झडप भएको हाे ।

पहिचान पक्षधर आन्दोलनकारीले बाँसको भाटा, गुलेली, ढुंगा, बोतल प्रहार गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए । सुरुमा प्रतिरक्षात्मक देखिएका प्रहरीले आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि ९४ सेल अश्रुग्याँस प्रहार गरेको थियो । तैपनि स्थिति नियन्त्रणमा नआएपछि पानीको फोहोरा प्रहार गरेका थिए । आन्दोलनकारी उग्र बनेपछि प्रहरीले ३८ राउण्ड हवाइ फायर जिल्ला प्रशासन कार्यलय माेरङले जानकारी दिएकाे छ ।  प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा समेत ढुंगामुढा गरेर मन्त्रालयका झ्यालका सीसा र मन्त्रालय परिसरमा रहेका मन्त्री निर्मला लिम्बु चढ्ने बा २ झ ३०८९ र स्वास्थ्य निर्देशनालयका बा २ झ ३१२८ नम्बरको गाडीलगायत मोटरसाइकल तोडफोड गरेका छन् । स्वास्थ्यमन्त्री लिम्बूको कार्यकक्षमा दुई राउण्ड गोलीसमेत चलेको छ । मन्त्रीको कार्यकक्षमा प्रहार गरिएको गोली सुरक्षाकर्मीले गरेको हवाइ फायर हो वा अन्य कसैले चलाएको अनुसन्धान हुन बाँकी रहेको बताइएकाे छ ।

प्रहरीले बाहिर जिल्लाबाट आउने सवारी साधनलाई राजमार्गदेखि नै जाँच गर्दै आन्दोलनकारीको सवारी रोकेका थिए । तर आन्दोलनकारीहरु विराटनगर आउन सफल भएका थिए । स्थानीय प्रशासनले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय र निवासलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

प्रजिअ यादवले पक्राउ परेका आन्दोलनकारीहरुलाई बिना सर्त रिहाइ गर्ने अवस्था नभएको बताउनु भएकाे छ । उहाँले मन्त्रालयलगायत क्षेत्रमा क्षति हुनुका साथै सुरक्षाकर्मीहरुलाई गम्भीर घाइते बनाएकाले पक्राउ परेकाहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयाे ।

यता आन्दाेलन चर्किरहेका बेला सुरु भएको बजेट अधिवेशनमा सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने माग गरेका छन् । विराटनगरस्थित प्रदेशसभाको हलमा आइतबारदेखि बजेट अधिवेशन सुरु भएको छ । आन्दोलनरत पक्षको दबाबमा परेका सांसदहरुले प्रदेशसभामा आन्दोलनरत पक्षसँग वार्ता गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाव दिएका हुन् ।

केन्द्रमा कांग्रेस-माओवादी केन्द्रसहितको गठबन्धन सरकार बनेपछि कोशी प्रदेशमा भने एमालेको सरकार छ । सांसदहरुले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरेर वार्ता नगरे स्थिति भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी
Next post खाटी भूटानी शरणार्थीको समस्या समाधान गर्न माग