राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरणः अव नागरिकता बन्ने आशा पलाएकाे नागरिकता पीडितकाे भनाइ
१७ जेष्ठ २०८०, काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताउनुभयो । सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।
विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनुभएको थियो । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको थिएन । त्यही विधेयक नौ महिनापछि प्रमाणीकरण भएको हो ।
यसैबीच यता नागरिकताविहीन सङ्घर्ष समिति, नेपालले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ राष्ट्रपतिबाट प्रमाणीकरण भएकामा खुसी व्यक्त गर्दै छिट्टै कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेको छ ।
सङ्घर्ष समितिका अध्यक्ष इन्द्रजित सफिले विगत १६/१७ वर्षदेखि लाखौँ नागरिकताविहीनको अथक सङ्घर्षको प्रतिफलस्वरुप आज राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएको भन्दै सरकार, राष्ट्रपति र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
डेढ दशकयता देशका करिब १४ लाख युवा नागरिकता नहुँदा सम्पूर्ण अधिकारबाट वञ्चित हुनुपरेको उहाँले बताउनु भयाे । नागरिकता नहुँदाकाे समस्या खासगरी पिछाडिएका समूदाय धेरै रहेकाे छ । कम साक्षरता र नेपाल भारतबीचकाे वैबाहिक सम्बन्धका कारण पनि नागरिकता समस्या धेरै आएकाे छ ।