भारत भ्रमण विकासका लागि ब्रेक थ्रु: प्रधानमन्त्री दाहाल

२० जेष्ठ २०८०, सारासन्देश समाचार–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको बताउनु भएकाे छ । उहाँकाे तेस्राे पटक प्रधानमन्त्री  हुँदा चाैथाे पटक गरिएकाे भारत भ्रमणले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको दावी गर्नु भएकाे छ ।
भारतकाे भारतकाे इन्दाेरमा संचालित वृहत फाेहाेर व्यवस्थापन याेजनाकाे अवलाेकन पछि कुरा गर्दै उहाँले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैँमा महत्त्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताउनुभयो ।
ऊर्जा व्यापारका सम्बन्धमा भएका सहमति आफैँमा एक प्रकारको ‘ब्रेक थ्रु’ नै हो । जुन कुरा हामीले लामो समयदेखि चाहिरहेका थियौँ”, उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो ।”
नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउनसमेत बल पुग्ने उहाँको भनाइ छ । दश वर्षमा १० हजार मेगावाट भारतले आयात गर्ने कुरा आफैँमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । भारतीय कम्पनी सतलजले सङ्खुवासभामा निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो, सोही कम्पनीले जिम्मा पाएको तल्लो अरुण जस्ता आयोजनाको सफल उदाहरण छ ।
निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेकामा प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्नुभयो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत एक हजार दुई सय मेगावाट बराबरको बिजुली सहजरूपमा भारत निर्यात हुने वातावरण बनेको छ । यसअघि चिनियाँ कम्पनीको सहभागिता रहेको भन्दै भारतीय पक्षले सो आयोजनाको बिजुलीसमेत लिन मानेको थिएन ।
विश्वव्यापी बोलपत्रका माध्यमबाट छानिएर आएका जुनसुकै कम्पनीको बिजुलीसमेत भारतले सहजरूपमा लिने विषयमा पनि सहमति भएको छ । यस्तै, नेपालको बिजुली बङ्गलादेश लैजाने सन्दर्भमा समेत ऐतिहासिक सहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ ।
प्रधानमन्त्री दाहालले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएको भनेर मान्न सकिने उल्लेख गर्नुभयो । नेपालका केही ठूला आयोजनामा बङ्गलादेशले लगानी गर्न इच्छा व्यक्त गर्दै आएको छ ।
प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेक जसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताउनुभयो ।
यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्त्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण मुलुकको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताउनुभयो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बुधबार भारत आउनुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशस्थित इन्दोरकाे भ्रमण सकेर आज साँझ प्रधानमन्त्री काठमाडौँ फर्कने बताइएकाे छ ।

तर यता विधार्थीहरूकाे राजनैतिक भातृ संगठनले भने लुम्विनी सर्किटकाे नक्शाकाे बिषय प्रति असन्तुष्टता व्यक्त गरेका छन् । यस्तै सामाजिक संजालमा प्रम दाहाललेे गर्नु भएकाे विधुत परियाेजनाकाे समेत विराेध हुन थालेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुनकोशी दुर्घटनामा परेका सीटीईभीटीका अधिकारी र जिपको खोजी जारीः ३ जना अझै वेपता
Next post भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु ९ सय जना घाइते