सुनकोशी जीप दुर्घटनामा वेपता अझै फेला परेनन् : नदीको बहाव अन्यत्र मोडेर खाेजिने

२० जेष्ठ २०८०,सिन्धुली– सुनकोशीमा शुक्रबार दुर्घटना भएको जीप र त्यसमा सवार वेपता भएका  अधिकारीहरूको खोजी आज पनि जारी छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का ३ जना वेपताकाे शनिबार बिहानैदेखि खोजी जारी भए पनि हालसम्म मानिस र गाडी भेटिएको छैन । यद्यपि दुर्घटनास्थलबाट १५ मिटरजति तल सुनकोशी नदीमा खोजीको क्रममा पानीमुनि फलामको हुक अड्किएको हुनाले जिपमा अड्किएको आशंका गरिएको छ ।

शुक्रबार दिनभर खोजी गर्दा नभेटिएपछि शनिबार पनि दिनभर खोजी भइरहेको छ । खोताखोरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयहरूले खोजी गरिरहे पनि भेटिएको छैन । नदीमा पानीको बहाब बढी भएकाले पानीलाई स्काभेटरको सहायताले अन्यत्र मोडेर खोजी गर्ने तयारी भएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको उक्त जिपमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल रहेका छन् । उनीहरू सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी भने पौडिएर निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तरकारी तथा फलफूल आयात गर्दा अबदेखि १३ प्रतिशत भ्याट लाग्ने
Next post नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित