झापामा बर्षेनी विस्तार हुँदै सुपारी खेतीः मुल्य बढे पछि किसान थप उत्साहित

२२ जेष्ठ २०८०/बालदिवश तामाङ

नेपालको झापामा मात्र झण्डै ७ अर्वको कारोवार हुने सुपारीको मुल्य यस बर्ष बृद्धि भए पछि किसानहरु थप उत्साहित भएका छन् । विगत बर्षहरुमा सामान्यतया ४० देखि ५० रुपयाँ प्रति केजीमा काँचो सुपारी विक्री हुँदै आएकोमा यो बर्ष ८५ रुपयाँसम्म किसानले दाम पाएका छन् ।

गत बर्ष ५ सय क्वीन्टलसम्म सुपारी खरिद गरेर प्रशोधन गर्ने अर्जुनधाराका व्यवसायी रघुनाथ गुप्ताले यो बर्ष ३ सय ५० केजी मात्र सुपारी संकलन गर्नु भयो । लक्ष्यभन्दा थोरै सुपारी संकलन हुनुमा मुख्य गरी उत्पादनमै गिरावट भएको उहाँले बताउनु भयो । बगानमा बोट हेरेर ठेक्का लगाउँदै आएका व्यवसायीले सुपारी कम फले पछि आफूहरु भने घाटामा गएको बताएका छन् । बोटमै सुपारी ठेक्का लगाउने व्यवसायीलाई कम फल्दा मुल्य भने बढ्ने गरेको अर्का व्यवसायी हरेकृष्ण गुप्ताले बताउनु भयो ।

५० बर्ष अघि देखि सुपारी खेती थालेका झापाका किसानले पछिल्लो समय राम्रो आम्दानी लिन थालेका छन् । रोपेको ५ देखि ६ बर्षबाट आम्दानी दिने सुपारी पुस्ते बालीको रुपमा चिनिन्छ । एक पटक रोपे पछि दोस्रो र तेस्रो पुस्तालाई समेत हुने खेती भएका कारण पनि पछिल्लो समय खेती तर्फ किसानको आकार्षण बढ्दै गएको अर्जुनधारा ९ मा २ विगाह क्षेत्रमा सुपारी खेती गर्दै आउनु भएका कुलप्रसाद बराल कुसुमले बताउनु भयो । कुसुमका अनुसार केही बर्ष यता सुपारी खेतीमा आकार्षण समेत बढ्दै गएको छ ।


नेपालको सवैभन्दा धेरै सुपारी उत्पादन हुने झापा जिल्लामा बर्षेनी सुपारी खेती विस्तार हुँदै गएको छ । तर नेपाली बजारमा विदेशी सुपारी आयातका कारण समस्या भएको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार नेपालमा ९ देखि १० अर्वसम्मको कारोवार हुने सुपारीलाई राज्यले उचित ध्यान नदिएको बताउनु भयो । यो बर्ष २० लाख रुपयाँ बजेट विनियोजन गरेको समेत बताउनु भयो । सुपारीजोन कार्याक्रमले बर्ष भरीमा २० लाखको बजेटले के काम गर्नु भनी उहाँले प्रश्न गर्नु भयो । सुपारीको विकास गर्ने हो भने मुख्य गरी सिंचाईमा जोड दिनु पर्ने बताउनु भयो ।

यता झापा जिल्लामा सुपारी खेतीको विकासका लागि सुपारीजोन कार्याक्रम विगत ५ बर्ष देखि संचालन हुँदै आएको छ । सुपारी किसानलाई सहज गर्नको लागि अघिल्लो आर्थिक बर्षमा मेशिन खरिदमा जोड दिएको सुपारीजोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार आफूहरुले सुपारी खेती विस्तारका लागि साना सिंचाई देखि गोदाघर र यन्त्रमा समेत ५० देखि ८५ प्रतिशत अनुदान उपलव्ध गराउँदै आएको बताउनु भयो । तर पछिल्लो समयको आर्थिक तरलताका कारण सरकारले दिएको बजेट कम हुदाँ किसानको मागलाई सम्बोधन गर्ने खालको बजेट नै नभएकाले खेती विकासमा आवश्यक कार्याक्रम संचालन हुन नसकेको उहाँले बताउनु भयो ।

नेपालको ८० प्रतिशत खेती हुने झापामा २७ सय हेक्टर हाराहारीमा सुपारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्क रहेको छ । यस बर्ष सुपारीको उत्पादनमा गिरावट आए पछि नेपालमा अहिलेसम्मकै काँचो सुपारीको उच्च मुल्य आएको छ । एक पटक रोपे पछि ३० देखि ४० बर्षसम्म आम्दानी हुने सुपारीको बजार सुनिश्चित नहुँदा भने समस्या हुने गरेको किसानको भनाइ छ । नेपाल र भारतबीचको सम्झौता परिमार्जन तथा खुल्ला बजारीकरणको नीति ल्याउने हो भने नेपालको सुपारीले राम्रो मुल्य पाउने सुपारी किसानहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नागरिकता पीडितहरू सर्वाेच्चकाे आदेशले निराशः जन्मकाे आधारका नागरिककाे १० औँ लाख छाेराछाेरीहरू पीडित
Next post गुह्येश्वरी सामाजिक सस्थाकाे अगुवाइ राेपियाे एक हजार बिरुवा