प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु

२९ जेष्ठ २०८०,प्यूठान– प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा आठजनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजार नजिकै टाकुरा भन्ने स्थानमा आज अपराह्न ३ बजे तिर कार दुर्घटना भएको हाे । कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सातजनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा मृत्यु भएकामध्ये दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् ।

यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र अन्यको एकजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै, यो प्रविधिले कसरी काम गर्छ ?
Next post मेशिनबाट सामुहिक धान राेपाइका लागि व्याड पनि मेशिनबाटै राखिँदै झापामा (फाेटाे फिचर)