स्वदेशी उत्पादनले रोक्यो ड्राइगन फलको आयातः झापामा मनग्ये उत्पादन हुन थाल्याे फल (फाेटाे फिचर)
१ साउन २०८०/डिकेश लामा
झापा जिल्लामै ड्राइगन फल राम्रो उत्पादन हुन थाले विदेशबाट हुने आयात रोकिएको छ । यस अघि विदेशबाट ल्याएर विक्री गर्ने व्यवसायीले जिल्लामै उत्पादन भएको फल सस्तो र आवश्यकता अनुसार पाउन थाले पछि विदेशी आयात रोकिएको हो । स्वास्थ्यका लागि उपयोगी मानिएको ड्राइगन फल २ बर्ष अघिसम्म झापामा प्रति केजि ७ देखि १ हजार रुपयाँसम्म विक्री हुने गथ्र्यो । महँगो भएका कारण सर्व साधारणले खरिद गरेर खान समस्या हुन्थ्यो । तर अहिले झापामै प्रसस्त उत्पादन हुन थाले पछि आधा भन्दा थोरै मुल्यमा बजारमा उपलव्ध हुन थालेको छ ।
बजारमा महँगो पर्ने भए पछि खासगरी यूवा किसानले पछिल्लो समय ड्राइगन फलको खेती गर्न थालेका छन् । गौरीगंज गाउँपालिकामा झण्डै ७ विगाह क्षेत्रमा खेती गर्दै आउनु भएका भुपेन्द्र थापाले यतिखेर प्रति केजी ३ सय रुपयाँमै धमाधम विक्री गर्दै आउनु भएको छ । उत्पादन धेरै भएकाले बजार मुल्य समेत घटेको उहाँको ठम्याई छ । थापाका अनुसार अव केही बर्षमा अझ धेरै फल उत्पादन हुन्छ । तर बजार मुल्यमा एकरुपता नआउँदा भोलिका दिनमा ड्राइगन फल खेती गर्ने किसानहरु निराश हुनु पर्ने अवस्था आउन सक्ने बताउनु भयो ।
खासगरी कोरोना कहर पछि युवाहरुले स्वदेशमै अवसरको खोजी गर्नेक्रममा ड्राइगन फलको खेती थालेका हुन् । स्वास्थ्यबर्दक मानिएको ड्रागन खेतीबाट उत्पादन हुन थाले पछि विदेशबाट हुने आयात प्रतिस्थापनसँगै रोजगारी समेत बृद्धि भएको खेतीमा सहयोग गर्दै आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनु भयो । विष्टका अनुसार यस अघि लगातार २ बर्षसम्म ड्राइगन फल खेतीमा यूवा पुस्तालाई अनुदान उपलव्ध गराए पछि जिल्लामा खेती विस्तार भईरहेको छ । २ बर्ष अघि रोपिएका विरुवाले उत्पादन दिन थाले पछि अहिले स्वदेशी फलले नै झापाका बजार धान्न थालेको छ ।
झापामा बर्षेनी ड्राइगन फल खेती गर्ने किसानहरु बढ्दै गएका छन् । तर बजारको उचित व्यवस्थापन नहुँदा भोलिका दिनमा फल फाल्नु पर्ने अवस्था नआउला भन्न नसकिने अवस्था रहेको खेतीमा लागेका किसानहरुको भनाइ छ ।