धादिङ बस दुर्घटनामा ८ जनाकाे मृत्यु १७ जना घाइतेः ४ जनाकाे पहिचान खुल्याे

६ भदाै २०८०,धादिङ– धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा यात्रु बस खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको हो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका मध्ये सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् । दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको छ । मृतक एकजना महिला र तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयाे । सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले ‘इ सेवा’बाट टिकट लिएका थिए । कलंकीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए । उनी सकुशल रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार १७ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ ।

बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सीआईबीले बुझायो प्रतिवेदनः करिब साढे २ सय जनालाई मुद्दा चलाउन सिफारिस
Next post जनताको अवस्था बदल्न घर–घरमा माओवादी अभियान अभिमुकिरण झापामा सम्पन्न (फाेटाे फिचर)