अलैंची प्रशोधनले रोजगारीः मुल्य बढे पछि किसान उत्साहित (फाेटाे फिचर)

२९ भदौ २०८०/बालदिवश तामाङ

खोल्छा देखि गोदामसम्म पुर्याउँदा अलैंची टिप्ने देखि छोड्याउने, सुकाउनेसम्मको काम किसानले गर्दछन् । तर अलैंची बजारमा विक्री हुन योग्य बनाउन त्यतिमात्र गरेर पुग्दैन । गोदाममा ल्याइ पुर्याएको अलैंचीलाई विक्री गर्न योग्य बनाउन पनि झापाको विर्तामोडमा पछिल्लो समय सयौंले रोजगारी पाएका छन् ।
अलंैची प्रशोधनमा धुलो छान्ने, पुच्छर काट्ने, प्याकेजिङ्ग, लोड अनलोड लगायतका कामहरु गर्नु पर्ने हुन्छ । यसमा ७० प्रतिशत जति महिलाहरुले रोजगारी पाएका छन् । नेपालमै पहिलो पटक अलैंचीको परिकार निर्माण थाले पछि अझ रोजगारीको सृजना भएको एभरेष्ट कारडमम इण्डष्ट्रिजका व्यवस्थापक अमरेन्द्रकुमार कर्णले बताउनु भयो । कर्णका अनुसार अहिले उद्योगमा मात्र ६० जना हाराहारीले रोजगार पाएका छन् ।

खासगरी पूर्वी नेपालमा बढी उत्पादन हुने अलैंची झापाको विर्तामोडमा संकलन हुने गरेको छ । ३ दर्जन हाराहारीका अलैंची व्यवसायी रहेको विर्तामोड देशकै अलैंचीको मुख्य हव रहेको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताउनु भयोे । भट्टराईका अनुसार सिजनको वेला सवै उद्योगमा गरी ५ सय भन्दा धेरैले रोजगार गर्ने गरेका छन् ।
यसैबीच यस बर्ष अलैंचीले थप मुल्य पाएको छ । विगत बर्ष भन्दा झण्डै दोब्बर मुल्य पाए पछि किसान समेत खेतीमा उत्साहित भएका छन् । याे बर्षकाे शुरूमै प्रति मन ६० देखि ६३ हजार रूपयाँसम्म अलैंचीकाे काराेवार भएकाे छ । तर यो बर्ष अघिल्लो बर्ष जस्तो उत्पादन भने हुन नसकेको विर्तामोड क्षेत्रमा अलैंची व्यवसाय गर्दै आउनु भएका दिनेश प्रसाद ढुङगेलले बताउनु भयो । ढुङगेलका अनुसार यस बर्ष बर्षातको शुरुमा सुख्खा लागेका अलैंची मर्ने तथा उत्पादन हुने दर कम भएको बताउनु भयो ।

गएको आर्थिक बर्षमा ८ अर्व २४ करोड मुल्यको अलैंची मेची भन्सारबाट भारत लगायतका तेस्रो मुलुकमा निर्यात भएको छ । देशको अर्थतन्त्र मजबुत बनाउन यस्ता नगदे बालीको विकास र बजारिकरणमा सरकारले विशेष चासो दिनु पर्ने व्यवसायीले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सिमा लक्षित झापामा पहिलो प्रशासन भवन निर्माणले सहजता (फाेटाे फिचर)
Next post सन्दकपुरको मकैको खोया देखि किवीको वाइनले लोभ्यायो पर्यटकलाई (फोटो फिचर)