मुख्यमन्त्री राईविरुद्धको अविश्‍वास प्रस्ताव पेश

९ फाल्गुन २०७७, विराटनगर- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको बैठकमा सभामुखले समय दिएपछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले टेबुल गर्नुभएको हो।

प्रस्ताव टेबुल भएसँगै प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहिवार १ बजे बस्ने गरी स्थगित गरिएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक करिब ४ बजे मात्र शुरु भएको थियो ।

बैठक शुरु गर्ने विषयमा सभामुख प्रदीप भण्डारीको उपस्थितिमा विभिन्न चरणमा छलफल भएपनि सत्तापक्षका मन्त्री तथा सांसदहरु अनुपस्थित भएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेकपा अहिले पनि कानुनी रुपमा एउटै भएको र दल भित्रको कानुनी समस्या समाधानको माग गर्दै सभामुखलाई पत्र दिइएको जानकारी दिनु भएकाे छ ।

अविश्वास प्रस्ताव टेबुल भएपछि नेकपा प्रचण्ड माधव समूहका नेता भीम आचार्यले अविश्वासको प्रस्ताव संसदको विषय भएकाले सत्तापक्षको उपस्थिति नहुँदा पनि प्रस्ताव गर्न सकिने धारणा व्यक्त गर्नुभएकाे छ ।

नेकपा प्रचण्ड माधव समूहका ३७ जना सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पौष १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएकोमा हस्ताक्षर गरेका ५ जना प्रदेश सांसदहरुले यस अघि हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना दर घट्दाे, क्वारेन्टाइनमा ७१ जना मात्र
Next post फेरि ल्याइयाे १० लाख डाेज खाेप