संरक्षणको अभावमा महाभारतकालीन अन्धराजा दरबार जाने पदमार्ग जिर्ण बन्दै (फाेटाे फिचर)

२६ असोज २०८०/डिकेश लामा

चुरे क्षेत्रमा पर्ने महाभारतकालीन अन्धराजा गुफा दरबारको प्रवर्धनका लागि प्रदेश सरकारले ४ बर्ष अघि देखि बजेट विनियोजन गर्दै आएको छ । तर दरबारको चुचुरो जाने पदमार्गले पूर्णता नपाउँदै यस अघि बनाइएका संरचनाहरु भने भत्किन थालेका छन् । प्रवेशद्वार देखि झण्डै १ किलो मिटर क्षेत्रमा लगाइएका स्टिलका रेलिङहरु कतै भाँचिएका छन् भने कते हल्लिएर भत्कन लागेका अवस्थामा छन् ।

झापाको दमक वडा नं. ३ को ओमशान्ति देखि उकालो चढेर इलामको चुलाचुली गाउँपालिका वडा नं. ५ को शिखरकटेरी गाऊँको उत्तरी क्षेत्रबाट शुरु गरिएको पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकका लागि रोजाइमा पर्न थालेको थियो । तर संरक्षण गर्न तर्फ स्थानीय सरकार र स्थानीय उपभोक्ताको कम्जोरीले बनेका संरचना समेत जिर्ण बन्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । सिमावर्ती क्षेत्रमा पर्ने महाभारतकालिन अन्धराजा गुफे दरबार जाने पदमार्गले पूर्णता नपाउँदै बनाइएका संरचनाहरु समेत भत्किन थालेको स्थानीय अगुवा दमक वडा नं. ३ का सुगम लामाले बताउनु भयो । लामाका अनुसार स्थानीय क्षेत्रमा संरक्षण समिति भए पनि त्यति धेरै सक्रीय भएको पाइएन । केही समय अघि राम्रै रेखदेख हुँदै आएको भए पछि पछिल्लो समय युवाहरु सुस्ताएको उहाँले बताउनु भयो ।

प्रदेश सरकारले हालसम्म झण्डै १ करोड बजेट विनियोजन गरे पनि पदमार्गमा बजेट अनुसारको काम हुन सकेन । उपभोक्ता समिति र ठेक्का मार्फत भएको निर्माण कार्यले प्राप्त बजेट समेत खर्च गर्न नसक्दा पदमार्ग अधुरै रहेको छ । बनेको संरचनामा समेत स्थानीय बासिन्दाले चासो नदिँदा निर्माण भएको संरचनाको सुरक्षामै चुनौती थपिएको स्थानीय अगुवा प्रकाश घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार गाउँका सक्रीय युवा धेरै जसो विदेशिने र गाउँमा भएकाहरु समेत रोजगारीका कारण रेखदेखमा कम्जोरी भएको उहाँले बताउनु भयो ।

परबाट हेर्दा मानिसको अनुहारको आकृतिमा रहेको ठूलो चट्टानको गुफे दरबारमा पुग्ने बाटो भने छैन । परापुर्व काल देखि नै अन्धराजारानी बस्ने दरबार रे भनेर सुन्दै आएको क्षेत्रलाई पर्यटकी स्थलको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा संजय राईले बताउनु भयो । राईका अनुसार ऐतिहासिक क्षेत्रको विकास गर्न सवै लाग्ने हो भने चुलाचुलीको मात्र नभएर मोरङ्गको मिक्लाजुङ, झापाको दमक लगायतका पालिकामा समेत सकरात्मक प्रभाव पर्ने उहाँले बताउनु भयो । संघीय राज्य व्यवस्था पछि ओझेलमा परेको महाभारतकालीन दरबार क्षेत्रलाई प्रर्बधन गर्न झापा र इलामका केही स्थानीय तहले समेत चासो देखाएका छन् । तर उचित संरक्षण नहुँदा बनेका पूर्वाधार समेत जिर्ण बन्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की र आङ्बो दुबैको दाबी पेश
Next post कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त