कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त
२७ असाेज २०८०,विराटनगर– कोशी प्रदेशको मुुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त हुनुभएको छ । आज ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको थियो । लगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री पदको शपथ भने आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
यसअघि नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ (मुख्यमन्त्रीमा नियुक्त कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बू) को प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरिएको थियो ।
विद्यार्थी राजनीतिबाट कांग्रेस राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका छन् । कोशी प्रदेशमा एक वर्षको अवधिमा ५ औं पटक मुख्यमन्त्री नियुक्त भएका छन् । एक वर्षको अवधिमा हिक्मत कार्की र उद्धव थापा २/२ पटक मुख्यमन्त्री बनेका थिए ।
संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेका थिए ।
यही धारा अन्तर्गत कार्कीले एमालेको सहयोगमा शुक्रबार मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कार्कीले दाबी पेस गरेका थियो । सत्ता गठबन्धनको सिफारिसमा मुख्यमन्त्रीमा दाबी पेश गरेका आङ्बोले शनिबार भने सनाखत गरेनन् । कार्कीले ४७ सदस्यको सनाखत गरेसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस प्रदेश सभा सदस्य निर्वाचित भएका कार्कीले कांग्रेसको निर्णयविरुद्ध विद्रोह गर्दै कांग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् ।