झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)

७ कार्तिक २०८०/डिकेश लामा

प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि झापाको कमल गाउँपालिकाले १६ लाख रुपयाँको आन्तरिक बजेटमा नेपालमै नयाँ तरिकाबाट प्राङगरिक मल उत्पादन थालेको छ । भारतका कृषि बैज्ञानिकहरुको प्राविधिक सहयोगमा निर्माण गरेको मल प्रभावकारी भए पछि धमाधम नयाँ तरिकाबाट मल उत्पादन थालिएको हो ।

नेपालमा खासगरी धान र मकैमा रासायनिक मलको प्रयोग अधिक हुने गर्दछ । बर्षेनी ५ लाख मेट्रिक टन भन्दा धेरै मलको आवश्यकता हुने कृषि क्षेत्रमा मलको अभावको समस्या हट्न सकेको छैन । तर झापाको कमल गाउँपालिकामा भने अधिक खेती हुने क्षेत्र वडा नं. १ मा भने नयाँ विधिबाट मल उत्पादन गरेर प्रयोगमा समेत ल्याउन थालेको सो वडाका अध्यक्ष केदार कटुवालले बताउनु भयो । कटुवालका अनुसार एक कठ्ठा जमिनमा एक देखि ढेड केजीले पुग्ने र रासायनिक मल भन्दा धेरै सहज हुने भए पछि प्रयोग र ल्याव परिक्षण समेत गरेर हेर्दा सफल देखिए पछि बृहतरुपमा मल उत्पादन थालेको उहाँले बताउनु भयो ।

गाउँपालिकाले भारतका कृषि वैज्ञानिक कञ्चन भोमिक सहितको टिमबाट सिकेर मल बनाउने कार्य थालेको छ । कमल एनपीके नाम दिइएको प्राङगरिक डल्ले मलमा पोटासियम, फोसफोरस र क्याल्सियमको मात्रा हुने पालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार रासायनिक मल युरिया २० रुपयाँ प्रति केजी पर्छ भने यो तरिकाले मल निर्माण गर्दा आधा भन्दा सस्तो पर्ने उहाँले बताउनु भयो ।

गोबर, सुली, सखर, बनको माटो, वेसन, गौमुत्र, चनाको धुलो समेतको मात्रात्मक मिश्रणबाट मल बनाइन्छ । मलको डल्लोलाई १० दिनसम्म ढुसी पलाउने गरी घाम नलाग्ने कोठामा राखे पछि मल तयार हुने मल उत्पादनमा काम गर्दै आउनु भएका सोम मुर्मुले बताउनु भयो । मुर्मुले अहिले आफूहरुले रोजगारीको रुपमा मल उत्पादन गर्दा शिप समेत सिकेको बताउनु भयो ।

नेपालमा गत आर्थिक बर्षमा रासायनिक मल खरिदका लागि सरकारले १५ अर्व रुपयाँ बजेट विनियोजन गरेको थियो । देशका सवै पालिकाले कमलले जस्तै आन्तरिक स्रोत साधानकै प्रयोगबाट मल उत्पादन गर्न सके आर्थिक समृद्धिसँगै प्राङगरिक खेतीको समेत विकास हुने कृषि विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जोखिममा रहेका भूटानी शरणार्थी बालबालिकासँग सामुहिक दशैंः शरणार्थी समस्या समाधानका लागि स्थानीयकरणको विकल्प नभएको दावी (फाेटाे फिचर)
Next post दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)