हिमनदि विस्फाेटबाट मृत्यु हुनेकाे संख्या ७० पुग्याे, अझै १ सय ३० बढी वेपता

१२ फाल्गुन २०७७,एजेन्सी भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि गएकाे माघ २५ गते आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । हराइरहेका २ सय ४ जनामध्ये हालसम्म ७० जनाको शव प्राप्त भएको उत्तराखण्ड प्रहरीका महानिर्देशक अशोककुमार सिंहले जानकारी दिए । हराइरहेका मध्ये १ सय ९२ जना तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनाका कामदार तथा १२ जना स्थानीय थिए ।

उत्तराखण्डको जोशी मठ नजिक दुई साताअघि हिमनदी फुट्दा धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जिउधनको क्षति पुर्‍याएको हो । बाढीका कारण दुई गाउँ बगाउनुका साथै एउटा पक्की पुल र चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

पछिल्लो समय भेटिएका शवमध्ये नेपालीको थियो/थिएन भन्ने खुलाइएको छैन । यसअघि चमोली जिल्ला प्रहरीले हराइरहेका १ सय ७५ जनाको सूची सार्वजनिक गर्दा ११ जना नेपाली रहेको उल्लेख थियो । जसमध्ये एकजना बाहेक अन्य सबै ऋषिगंगा र तपोवन जलविद्युत् आयोजनामा कार्यरत मजदुर थिए ।

महानिर्देशक सिंहले हराइरहेकाहरुको खोजी अभियान जारी रहेको र यसका लागि धेरै समय लाग्न सक्ने बताएका छन् । ‘जलविद्युत् आयोजनाको सुरुङ, बाँधस्थल, नदीको किनारी भागलगायतमा खोजी कार्य जारी छ,’ सिंहले भनेका छन्, ‘बाढीले ल्याएको डेब्रिसलाई पूर्णरूपमा सफा गर्नु निकै ठूलो काम हो । साढे २ किमि लामो सुरुङमध्ये अहिलेसम्म जम्म १ सय ७१ मिटर खण्ड मात्रै सफाइ गर्न सकेका छौं ।’

बाढीकाे त्यसवेला सामाजिक संजालमा भाइरल बनेकाे भिडियाे हेर्न तलकाे लिंक थिच्नुहाेस्र ।

https://www.facebook.com/116387043550730/videos/449685649736280

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १३ दिनमा संसद बाेलाउने सर्वाेच्चकाे आदेश मान्नेः ज्ञवाली
Next post नेपालमा ८४ निकाे हुँदा ११२ जना संक्रमित थपिए