१३ दिनमा संसद बाेलाउने सर्वाेच्चकाे आदेश मान्नेः ज्ञवाली
१२ फाल्गुन २०७७, काठमाडौँ – सर्वोच्च अदालतको फैसलालाइ नेकपाको ओली समूहले मान्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको हाे । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई हिजाे मात्र बदर गरेको छ। अदालतले दिएकाे निर्देशन बमाेजिम संसद बाेलाउने तयारी गरकाे समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भयाे ।
समग्र परिस्थितिको छलफल गर्न छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने पनि ज्ञवालीले जानकारी दिनु भयाे । प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, ‘हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’ स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने जानकारी दिइएकाे छ ।
यस्तै यता संविधानसभा अध्यक्ष तथा नेकपा नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताउनु भएकाे छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला सुनाएको एक दिन पछि आज नेम्बाङले आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन राजनीतिक र कानुनी रुपमा सही नहुने सुझाव दिएको बताएका हुन् । यसअघि विभिन्न कार्यक्रममा नेम्बाङले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला आएको भोलिपल्ट यसबारे प्रतिक्रिया दिने बताउँदै आउनु भएकाे थियाे ।