नेपालमै हाइव्रेड मकै विऊ उत्पादनमा सफल बन्दै: गौरादहका किसानले ७ हेक्टरमा फलाए ५० लाखकाे विउ (फाेटाे फिचर)

१३ जेष्ठ २०८०/बालदिवश तामाङ

झापाको गौरादहमा हाइव्रेड मकैको विउ उत्पादन कार्य यस बर्ष सफल बनेको छ । ५ बर्ष देखि कोशी प्रदेशमा एक मात्र व्यवसायिक हाइव्रिड विऊ उत्पादनमा लागेको नमूना खेतीले यो बर्ष १५ मेट्रिक टन विऊ उत्पादन गरेको छ ।

नेपालमै नमूना खेतीको रुपमा परिचित गौरादह नगरपालिका वडा नं. ५ को एकिकृत नमूना खेतीले यो बर्ष झण्डै ४५ लाख मुल्यको मकैको हाइव्रिड विऊ उत्पादन गर्न सफल बनेको छ । प्रति केजी ३ देखि ५ सय रुपयाँमा विक्री हुने मकैको रामपुर १६ र १२ को १५ मेट्रिक टन विऊ उत्पादन गरेको खेतीका अध्यक्ष वेदनीधि चाँपागाईंले बताउनु भयो । ५ बर्ष देखि निरन्तर कोशी प्रदेशमै एक मात्र सामुदायिक स्तरमा हाइव्रिड मकैको विऊ उत्पादनमा लागेको नमूना खेतीले यस बर्ष उल्लेख्य सफलता प्राप्त गरेको छ । यस बर्ष उत्पादन गरेको मकै झण्डै ४५ देखि ५० मुल्यको हुने खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताउनु भयो । खतिवडाका अनुसार यो बर्ष नेपालमा सफल र पछिल्लो चरणमा सुचिकृत भएको रामपुर हाइव्रिड विऊ राम्रो उत्पादन भएको छ ।

नेपालमा बर्षेनी मकै खेतीका लागि झण्डै ३ देखि ४ हजार मेट्रिक टन विऊ खपत हुने गरेको छ । तर नेपालमै भने १ सय मेट्रिक टन हाराहारीमा मात्र उत्पादन हुन्छ । झण्डै ९५ प्रतिशत २ अर्व मुल्यको विऊ अझै पनि भारतबाट आउने गरेको छ । यसलाई रोक्न देशव्यापी हाइव्रिड विऊ उत्पादन खेतीमा जोड दिनु पर्ने राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमका संयोजक बरिष्ठ वैज्ञानिक तिर्थराज रिजालले बताउनु भयो । रिजालले कार्यक्रमले कोशी प्रदेशमा हाइव्रिड विऊ उत्पादनमा लागेको नमूना एकिकृत खेतीलाई आफूले समेत सहयोग गरेको बताउनु भयो । कार्याक्रमले प्राविधिक सहयोग दिएकाले कोशी प्रदेशमा गौरादहको एकिकृत खेतीले सफलता लिँदै भएको उहाँले बताउनु भयो ।

Photo: Birendra subba

नेपालमा ९० लाख हेक्टरमा मकै खेती हुँदै आएको छ । जसमध्ये १५ प्रतिशत अर्थात १ लाख ३५ हजार हेक्टर क्षेत्रफलमा हाइव्रेड मकै खेती हुँदै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको तथ्याङक छ । तर आवश्यक विऊ उत्पादन हुन नसक्दा अर्वौ रुपयाँ भारत गईरहेकाले यसलाई रोक्न सरकारले विषेश कार्याक्रम बनाउनु पर्ने हाइव्रिड खेतीका किसानले बताएका छन् । यस बर्ष उत्पादन भएको विऊलाई सुरक्षित भण्डारण र प्याकेजिङका लागि गौरादह नगरपालिकाले २ लाख रुपयाँ सहयोग गरेको नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार नेपालमा एक मात्र कृषि पर्यटन क्षेत्रको रुपमा सुचिकृत नमूना एकिकृत खेतीको विकासमा नगरपालिकाले समेत उच्च प्राथमिकता दिएको बताउनु भयो । सुवेदीका अनुसार नगरको कृषि क्षेत्रका विकास लागि दिर्घकालिन योजना बनाएर आफू लागि परेको बताउनु भयो ।
झापामा पछिल्लो समय हाइव्रिड विऊ उत्पादन, प्रशोधन र खेतीमा गौरादह उच्च स्थानमा रहेको छ । पालिकामा धान, मकै, गहुँ, जैघाँस, लगायत अन्य प्रकारका विऊहरु समेत उत्पादन र प्रशोधन गर्दै आएको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकालका अनुसार पूर्वी नेपालका अधिकांश क्षेत्र र पश्चिमका धेरै जिल्लामा महारानीझोडाले उत्पादन र प्रशोधन गरेको विऊहरुको माग समेत बढ्दै गएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रुकुममा जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्युः १० जना घाइते
Next post शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म १७ जना पक्राउः अदालतबाट बयान लिन शुरू