सुपारीको दुना टपरी बनाउँदै महिलाः उद्योग राखे पछि खेर जाने सुपारीको सुल्फाबाट समेत आम्दानी (फाेटाे फिचर)
१० साउन २०८०/बालदिवश तामाङ
नेपालकै सवै भन्दा धेरै ८० प्रतिशत सुपारी खेती हुने झापामा महिलाहरु दुना टपरी बनाउने काममा जुटेका छन् । सुपारीजोन कार्याक्रम मार्फत सुपारीको सुल्फाबाट दुना टपरी बनाउने उद्योग स्थापना भए पछि गाउँघरमै महिलाहरुले दुना टपरी बनाउन थालेका हुन् ।झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुपारी जोन कार्याक्रम संचालन भए पछि ४ करोड लगानीमा सुपारीका सामाग्री बनाउने २ वटा उद्योग स्थापना भएका छन् । गाऊँघर नजिकै उद्योग स्थापना भए पछि सुपारीको सुल्फाबाट टपरी खासगरी महिलाहरुले रोजगारी पाएका छन् ।
उद्योग नखुल्दा घरायसी काम गरेर बस्नु भएकी मुना गिरीले अहिले दैनिक ८ घण्टाको जागिर पाउनु भएको छ । मेचिनगर नगरपालिका वडा नं. ५ मा रहेको एडभान्स मल्टि प्रोडक्सन कम्पनिको टुना टपरी उद्योगमा गिरी जस्तै अन्य धेरै महिलाले रोजगारी पाएका छन् । मासिक ८ देखि १२ हजारसम्म तलव पाउँदै आएका महिलाहरुलाई घर नजिकै बसेर रोजगार गर्न पाउँदा घर व्यवहार रेखदेखसँगै संचालनमा समेत टेवा पुगेको रोजगारीमा लाग्नु भएकी अर्की महिला सुस्मिता मैनालीले बताउनु भयो ।
सुपारीको पातको खोस्टाबाट अस्थायी प्रकृतिका दुना टपरी बनाउने उद्योग जिल्लामा ५ वटा स्थानमा संचालनमा रहेका छन् । त्यस मध्ये दुई वटा उद्योगमा अनुदान दिएर बृहतरुपमा व्यवसायिक ढंगबाट दुना टपरी बनाउने कार्य भइरहेको सुपारी जोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार सुपारी प्रशोधनका लागि २ वटा उद्योग र दुना टपरीको २ वटा उद्योग संचालनमा २० लाख रुपयाँका दरले अनुदान दिइएको छ । जसले गर्दा खेर जाने सुपारीको सुल्फाको प्रयोग देखि सुपारी टुक्रा बनाइ प्याकेजिङ गरेर विक्री गर्नेसम्मको काम हुँदै आएको बताउनु भयो । झापामा रबर र सुपारीमा जोन कार्यक्रम संचालन भए यता सिंचाई र उद्योगमा गरी ४ करोड रुपयाँ अनुदान दिइसकेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत सुपारी जोन कार्याक्रमले भवन निर्माण र मेशिन खरिदमा अनुदान दिएर पछि उद्योग संचालनमा ठूलो टेवा पुगेको एडभान्स मल्टि प्रोडक्शन कम्पनिका संचालक यामप्रसाद निरौलाले बताउनु भयो । यसैगरी अर्जुनधारा ६ मा रहेको हिमालयन लस इन्डष्ट्रीमा पनि १३ जनाले दैनिक रोजगार पाएका छन् । रोजगारीमा अधिक महिला रहेका छन् । उद्योग बसे पछि यस अघि त्यतिकै खेर जाने सुपारीको सुल्फाबाट किसानले समेत प्रति गोटा २ देखि ५ रुपयाँ प्राप्त गरेको अर्जुनधारा १० का किसान विपिन द्यौरालीले बताउनु भयो । उद्योग स्थापना भए पछि वैशाख जेष्ठ देखि झर्ने सुपारीको पातलाई असोजसम्म संकलन गरेर जम्मा गरेर विक्री गर्ने गरिएको उहाँले बताउनु भयो ।
गाउँघरमै उद्योग संचानल भए पछि यस अघि कुहिएर जाने सुपारीको सुल्फाले पछिल्लो समय नगद साट्न थालेको छ । सुपारीको फल र पात दुवैबाट राम्रो आम्दानी हुन थाले पछि किसानहरु सुपारी खेती विस्तारमा थप उत्साहित भएको उनीहरुको भनाइ छ ।