दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)

८ कार्तिक २०८०/डिकेश लामा
पारिवारिक विखण्डनका कारण पूर्वी नेपालको झापा तथा मोरङ्गमा बसेका भूटानी शरणार्थीहरु दशैंमा खुशी भन्दा पनि बढी दुःखी हुने गरेका छन् । एकै परिवारका सदस्यहरु छुटिएर अलग अलग देशमा रहनु पर्दा दशैंले उल्टै मन दुखाउने गरेको छ ।

झापाको वेलडाँगी शरणार्थी शिविर सेक्टर डी÷एक घर नं. ११७ मा बसोवास गर्दै आउनु भएकी ६८ बर्षीय प्रतिमाया तामाङ एक्लै हुुनु हुन्छ । उहाँको आमाबुवा एक सय बर्ष नजिकको उमेरमा बृद्धावस्थामा भूटानमा हुनुहुन्छ । श्रीमान् वितेको ४० बर्ष भयो । भएका ५ जना छोराछोरी अमेरिकामा छन् । एक्लिएर बस्नु पर्दा अरु वेला भन्दा चाडबाडमा उहाँलाई औधी दुःख लाग्ने गरेको छ ।


उहाँ जस्तै स्वदेश शरणार्थी शिविर धेरै परिवारका सदस्यहरु विश्वका ८ वटा भूटानी स्थानान्तरण भएको देशमा पुगेकाले छुटिएर बस्न बाँध्य हुनु परेको छ । सन् १९९२ देखि नै झापाको माइखोलाको किनारामा बस्दा देखि शिविर व्यवस्थापनमा खटिनु भएका नारादमुनी सन्यासी भुटान फर्कने आशाआशामै ५ बर्ष अघि वित्नु भयो । आज शिविर व्यवस्थापन स्वयम् सेविकाको रुपमा काम गर्दै आउनु भएकी सन्यासीकी श्रीमति सरस्वती सन्यासी पनि दुःखकै दशैं मनाउँदै आउनु भएको छ । दशंै भनेर टिका लगाउने वेला पहिले आँखाबाट आँशु आउने गरेको उहाँले बताउनु भयो ।


देश छाडेर हिडे पछि एकै परिवार भूटानीहरु विभिन्न देशमा बाँडिएका छन् । कसै कसैले बर्षौं पछि तेस्रो मुलुकबाट आएर टिका लाउने अवसर पाउँदा खुशी समेत छन् । १२ बर्ष पछि दाजुको हातको टिका लाउन पाउँदा खुशी लागेको अमेरिकाबाट दशैंमा आफन्त भेट्न आउनु भएका ललित गुरुङ्गले बताउनु भयो । गुरुङ्गका दाजु वेलडाँगी शिविरका अगुवा भूटान कराते एशोसियशनका संयोजक एनबी गुरुङ्गले भाइ आएर यो पटकको दशैं केही रमाइलो भए पनि अधिकांश भूटानीहरु चाडपर्वमा दुःखी नै हुने गरेको उहाँले बताउनु भयो ।


पुस्तौं अघि देखि भूटानमै जन्मिएर पसिना बगाएका शरणार्थी शिविरमा आएका पहिलो पुस्ताले जसरी भए पनि देश नै फर्कन अठोट गरे । देश फर्कने आशामा धेरैले प्रवासमै ज्यान गुमाए । अव भने भूटान फर्कने आशा मर्दै गएको एक्लिनु भएका भूटानी शरणार्थी जेष्ठ नागरिक स्वदेश फिर्ती समितिका अध्यक्ष सन्तविर घलले बताउनु भयो ।
पछिल्ल्लो समय ६ हजार हाराहारीमा रहेका भूटानी शरणार्थीहरु मध्ये धेरै जसो पारिवारिक विखण्डनमा परेका छन् । विभिन्न कारणले शरणार्थी शिविरमा छाडिएका भूटानीहरुले दशैंमा एक्लै हुनु पर्दा अतितका यादहरुले दुःख लाग्ने गरेको उनीहरुको भनाइ छ ।

भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)
Next post महामारीका काराण पशु विमाको क्षतिपुर्ती बढ्यो