बाराको सिम्रौनगढमा कर्मचारी विवादकाे झडपमा १ जनाको मृत्यु, १० जना प्रहरी घाइते
२७ मंसिर २०८०, बारा– बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका छन् । यस्तै झडपमा अर्का १ जना गम्भीर घाइते भएका छन् । मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन । अर्का घाइते हरियरपुरका रहेकाे र उनकाे नारायणी अस्पतालमा उपचार भइरहेको छ । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।
विवाद बढ्दै गएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । प्रदर्शनकारीको आक्रमणबाट १० जना प्रहरी घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो । नगरपालिकाकामा कार्यरत स्थायी, करार र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि आन्दोलन गर्दै आएका थिए ।
आन्दोलनरत कर्मचारीहरुले वार्ता पछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगरप्रमुखले एकाएक कार्यकारी अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्तको अवस्था आएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ।