बालकुमारी घटनाका मृतकलाई १० लाख दिइनेः छानविनका लागि प्रशासन र मन्त्रीकाे व्यक्तिगत सुरक्षाकर्मी निलम्बनमा

१४ पुस २०८०,काठमाडौँ – सरकारले शुक्रबार भएको बालकुमारी घटनामा मृत्यु भएकाको परिवारलाई दश-दश लाख रुपैंया दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अप्रत्यासित रुपमा घटेको घटना प्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत स्वरुप दश लाख रुपैंया दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले उक्त घटनामा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको पनि प्रवक्ता मन्त्री शर्माले जानकारी दिनुभएको छ । ललितपुरको बालकुमारीमा हिजो भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । यसैगरी उक्त घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।

यसैगरी ललितपुरको उक्त घटना छानबिनलाई वस्तुनिष्ठ बनाउनका लागि सुरक्षा, प्रशासन, ईपीएस र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाउने र निलम्बनको निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बालकुमारीमा रहेको ईपीएस शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा मन्त्री ज्वाला चढेको गाडीमा आगजनी गरिएको थियो । उक्त आगजनीपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको घटनाबारे छानबिन गर्नका लागि गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा छानबिनका क्रममा अधिकारीहरूलाई जिम्मेवारीबाट हटाइएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इपीएस परीक्षाकाे विवादले लियाे २ जनाकाे ज्यानः ७ जना घाइते
Next post उपचार पछि झापामा माटोको अवस्था सुधारोन्मुखः माटोको अम्लीयपन घटाउँदै किसान