उपचार पछि झापामा माटोको अवस्था सुधारोन्मुखः माटोको अम्लीयपन घटाउँदै किसान

१४ पौष २०८०/डिकेश लामा

लगातार माटोको परिक्षण र उपचार गर्न थाले पछि झापाको धेरै पालिकाको माटोमा सुधार आउन थालेको छ । संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय सरकारले समेत माटो परिक्षण र उपचारमा ध्यान दिन थाले माटोको अवस्था सुधारोन्मुख बन्दै गएको हो ।

५ बर्ष अघि झापाको दमकका त्यहि किसानले ल्याएको माटोको पीएच ५ भन्दा तल थियो । अर्थात माटोमा अम्लीयपन अधिक थियो । तर बर्षेनी माटो परिक्षण र उपचारका लागि कृषि चुन सहित प्राङगरिक मलको प्रयोगलाई बढाए पछि अहिले माटोको अवस्था धेरै सुधार भएको दमक नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले बतउनु भयो । लगातार ५ बर्षसम्म वितरण गरिएको कृषि चुन र प्राङगरिक मलको प्रयोगमा प्रोत्साहन गरे पछि त्यसको परिणाम अहिले आएर देखा परेको बताउनु भयो ।

कृषि ज्ञान केन्द्र झापा मार्फत रेखदेख हुँदै आएको माटो तथा मल परिक्षण प्रयोगशाला सुरङ्गाले जिल्लाको १५ वटै पालिकामा बर्षेनी माटोको परिक्षण र उपचारका लागि सुझाव दिँदै आएको छ । परिक्षणसँगै उपचार समेत गरे पछि जिल्लामा सवै भन्दा धेरै दमकको माटोको अवस्था सुधार भएको पाइएको माटो तथा मल परिक्षण प्रयोगशाला सुरङ्गाकी प्रमुख अन्जु बुढाथोकीले बताउनु भयो । बुढाथोकीका अनुसार १५ पालिकामै विगतका बर्ष भन्दा माटोको अवस्था सुधारोन्मुख रहेको बताउनु भयो ।


माटोमा अम्लीयपन बृद्धि हुनु भनेको पीएच मान घट्नु हो । यसका लागि कृषि चुन र गोबर मलको प्रयोगलाई जोड दिनु पर्छ । कृषिमा आधुनिक तरिकाले खेतीमा लागेका किसानले अहिले माटोको उपचारलाई समेत विशेष जोड दिँदै आएका छन् । मापदण्ड विपरित अन्धाधुन्ध रासायनिक मलको प्रयोगले माटोको अवस्थामा असर गर्दछ । एउटै जमिनमा फरक फरक बालीको प्रयोग र प्राङगरिक मलको प्रयोग बढाउने हो भने माटो स्वस्थ्य हुनका साथै जैविक विविधतामा समेत टेवा पुग्ने कृषि प्राविधिकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बालकुमारी घटनाका मृतकलाई १० लाख दिइनेः छानविनका लागि प्रशासन र मन्त्रीकाे व्यक्तिगत सुरक्षाकर्मी निलम्बनमा
Next post बर्षौं पछि नागरिकता प्राप्तीले नयाँ पुस्तामा सहज