बर्षौं पछि नागरिकता प्राप्तीले नयाँ पुस्तामा सहज

१५ पुस २०८०/डिकेश लामा

बुवा आमाले जन्मको आधारमा नागरिकता लिएका तर आफूहरुले नागरिकता लिन नपाउँदा बर्षौंदेखि समस्या भोग्दै आएका नयाँ पुस्ताका युवा युवतीले वंशजको आधारमा नागरिकता लिन थालेका छन । नागरिकता सम्बन्धी नयाँ व्यवस्थाका कारण झापामा बसोबास गरिरहेका हजारौं आदिबासी जनजाती समुदायको नागरिकता सम्बन्धी समस्या धेरै मात्रामा समाधान भएको छ । नागरिकता नभएकै काराण दमक वडा नं. ९ का झण्डै २ सय घर उराव परिवार विधालयदेखि रोजगारीमा समेत बन्चित रहेका थिए । तर सरकारले ७ महिना अघि जारी गरेको नेपाल नागरिकता ऐन पहिलो संशोधनले जन्मको आधारमा नागरिकता लिएकाहरुको छोराछोरीलाई वंशजको आधारमा वितरण गरेपछि यतिखेर उराव परिवारमा खुशी छाएको छ । दमक वडा नं. ९ मा बर्षौं पछि जन्मको आधारमा आमाबुवाले प्राप्ती गरेको नागरिकताको आधारमा छोराछोरीले बंशजको नागरिकता प्राप्त गरेका छन् । दमक वडा नं. ९ चियाबगान क्षेत्र आसपास मात्र झण्डै २ सय घर परिवारको बसोवास रहेको छ । यस अघि जन्मको आधारमा नागरिकता बनाएका बुवा आमाले छोराछोरीको नागरिकता बनाउन नपाउँदा रोजगारी देखि उच्च शिक्षा अध्ययनमा समेत समस्या भएको थियो ।

आदिवासी समूदायको बाक्लो बसोवास रहेको झापा जिल्लामा खासगरी उराव, ऋषीदेव, गन्गाइ लगायतका जातजातिहरुमा नागरिकताको समस्या अधिक रहेको थियो । नागरिकता नभएकै कारण धेरै वेरोजगार रहनु परेको थियो । नागरिकता वितरणले उनीहरुमा धेरै उत्साह जागेको इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिनाले बताउनुभयो । तिम्सिनाका अनुसार बुवा आमा दुवैको नागरिकता नहुँदा भने जन्मको आधारमा नागरिकता दिने ऐन नभएकाले परिवारमा एक जनाको मात्र नागरिकता भएका छोराछोरीमा भने समस्या भएको उहाँले बताउनु भयो । यस बाहेक धेरैको समस्या भने नयाँ नागरिकता ऐनले सम्बोधन गरेको उहाँले बताउनु भयो ।

नागरिकता नभएरै उच्च शिक्षा लिनबाट बन्चित भएका धेरै युवाहरु सरकारी कामकाजदेखि वैदेशिक रोजगारीमा समेत सामेल हुन पाएका थिएनन् । नागरिकता पाएपछि अहिले धेरैजसो अध्ययन र रोजगारीमा लागेका छन् । झापा जिल्लामा मात्र जन्मको आधारमा नागरिकता लिनेको संख्या झण्डै ५ हजार रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि ५ हजार अभिभावकका छोराछोरीहरुले उमेर पुगेपछि वंशजकै आधारमा नागरिकता पाउने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उपचार पछि झापामा माटोको अवस्था सुधारोन्मुखः माटोको अम्लीयपन घटाउँदै किसान
Next post धानको मुल्य अहिलेसम्मकै उच्चः समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या(फाेटाे फिचर)