धानको मुल्य अहिलेसम्मकै उच्चः समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या(फाेटाे फिचर)

१६ पौष २०८०/डिकेश लामा

नेपालको सवै भन्दा धेरै धान उत्पादन हुने झापा जिल्लामा यस बर्ष समर्थन मुल्यमा धान खरिद गर्ने संस्थालाई समस्या भएको छ । सरकारले तोकेको मुल्य भन्दा प्रति क्वीन्टल ६ सय रुपयाँ बढी मुल्य पाए पछि किसानले धान संस्थालाई विक्री नगरी बजारमा विक्री गर्न थालेका छन् । विगत बर्षमा भाउ पर्खेर खेतमै कुन्युमा धान थन्काउने किसानले यस बर्ष हतार हतार झाँटेर धमाधम धान विक्री गर्दै आएका छन् । वेलैमा मुल्य उच्च भए पछि किसानले धान विक्री गर्न थालेको बताएका छन् । गौरादह नगरपालिका वडा नं. ५ भुक्केडाँडाका किसान भवानी लिम्बु सम्बाहाम्फेका अनुसार यो बर्ष धेरै किसानले धमाधम धान झाँटेर विक्री गर्न थालेका छन् । वेलैमा राम्रो मुल्य आएको र पछि घट्न सक्ने भन्दै हतारमा धान विक्री गरेको उहाँले बताउनु भयो ।

अघिल्लो बर्ष झापाका किसानले यो वेला प्रति क्वीन्टर २ हजार ५ सय रुपयाँमा विक्री गरेको धान यो बर्ष ४ हजार रुपयाँ धमाधम विक्री गरिरहेका छन् । यसले गर्दा सरकारको समर्थन मुल्यमा धान खरिद गर्ने जिल्लाका कृषि सहकारी तथा संस्थालाई भने धान खरिद गर्न समस्या भएको ३ बर्ष देखि समर्थन मुल्यमा धान खरिद गर्दै आएको गौरादहको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार यो बर्ष सरकारले विगत बर्षमा दिने भनिएको अनुदान प्रति क्वीन्टल १ सय १२ रुपयाँ कटौती गरेको छ । आफूहरुले बजार मुल्यमै धान खरिद गरे पनि समर्थन मुल्यमा पाउने अनुदान कटौती भयो भने आगामी बर्षमा धान खरिद गर्ने कार्याक्रम नै प्रभावित हुने उहाँले बताउनु भयो । भण्डारीले भन्नु भयो, ‘अप्ठयारो अवस्थामा सरकारले सहकारी संस्थाहरुलाई सहयोग लिने र सहज हुँदा हात निकाल्ने गर्यो भने समर्थन मुल्यमा धान खरिद गर्ने प्रकृयामा नै समस्या हुने बताउनु भयो । यो बर्ष झापामा विगत भन्दा झण्डै दोब्बर ८ हजार ३ सय मेट्रिक टन धान खरिद गर्न जिल्लाका ५ वटा कृषि सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन कार्यान्वयन इकाइसँग सम्झौता गरेका थिए । तर समर्थन मुल्यमा भन्दा क्वीन्टरमा ६ सय ३८ रुपयाँ धेरै मुल्यमा व्यापारीले धान खरिद गर्दै आएका छन् । यसले गर्दा समर्थन मुल्यमा धान खरिद गर्ने सहकारीलाई भने समस्या भएको छ ।

धान पाकेको शुरुको अवस्थामै उच्च मुल्य भएको धानको मुल्य यस बर्ष निरन्तर उकालो लागिरहेको छ । यस बर्ष भारतमै धानको मुल्य उच्च भए पछि नेपालमा आयात नभएकाले धानको मुल्य बृद्धि भएको ३५ बर्ष देखि धान खरिद विक्री गर्दै आउनु भएका जयप्रसाद ओडारीले बताउनु भयो । ओडारीका अनुसार यो बर्ष भारतमै धानको मुल्य उच्च भए पछि भारतबाट आउने धान नेपाल आउन सकेको छैन । जसले गर्दा नेपालका व्यापारी भारतको आधारमा महँगो मुल्य तिरेर किसानको धान खरिद गर्न थालेका हुन् । यो बर्ष चैते धान देखि नै धानको मुल्य बृद्धि हुँदै गएको उहाँले बताउनु भयो । अघिल्ला बर्षहरुमा भारतमा धानको मुल्य नेपालमा भन्दा सस्तो हुँदा भारतका किसानले समेत नेपालमा ल्याएर धान विक्री गर्ने गरेका थिए । तर यो बर्ष सिमावर्ती क्षेत्रका भारतीय किसानले समेत नेपालमा धान ल्याएका छैनन् ।

झापा जिल्लामा बर्षे र हिउँदे गरी नेपालको सवैभन्दा धेरै झण्डै एक लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । यो बर्ष धानको उत्पादन बृद्धिसँगै उच्च मुल्य पाए पछि किसानहरु भने खेतीमा उत्साहित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्षौं पछि नागरिकता प्राप्तीले नयाँ पुस्तामा सहज
Next post ढेड दशक पछि हुलाकी सडकमा पर्ने रतुवा खोलाको पुलमा हिड्ने आशा (फाेटाे फिचर)