यस बर्ष पनि कन्काइ माइकाे पुस्ते माइ मेला भव्यका साथ लाग्याे

१ माघ २०८०, झापा– पुस्ताैं देखि लाग्दै अाएकाे झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा यस बर्ष पनि भव्य मेला लागेकाे छ ।   हरेक वर्ष माघे सङ्क्रान्तिका दिन कनकाई नदी किनारमा लाग्ने मेलामा यस बर्ष पनि भक्तजनकाे भीड बाक्लाे रहेकाे छ ।

धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ । नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । अाज सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा भव्य मेला लगाइएको छ ।

कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए । मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेक डान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्य लगायत विविध कार्यक्रम आयोजना गरिएको छ ।

माई मेलामा २ लाख बढी तीर्थयात्री मकर स्नान गर्न आएकाे अनुमान गरिएको आयोजक समितिले जनाएको छ । स्नान गर्न आउने भक्तजनहरूका लागि आयोजक समितिले आगो ताप्ने व्यवस्थापन मिलाएको छ । मेलाको व्यवस्थापन पहिलाका वर्षभन्दा राम्रो गरिएको अायाेजकले जनाएकाे छ ।

आयोजक समितिले चार सय बढी स्वयंसेवक परिचालन गरिएको जनाएको छ । मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भीडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको अस्थायी पुल निर्माण गरेको छ । अस्थायी पुल निर्माण गर्दा समेत मानिसकाे अावाता जावातमा समस्या हुने गरेकाे छ ।

माई मेलामा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङलगायत छिमेकी जिल्ला र भारतबाट पनि भक्तजनहरू आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनुदानले केरा खेतीमा उत्साहः चिमरियाको कमाइ केराबाट बर्षमा झण्डै आधा करोड (फाेटाे फिचर)
Next post झापामा ड्राइगन फलको खेती बर्षेनी विस्तार (फाेटाे फिचर)