गौरादहले थाल्यो अन्तर सम्बन्ध रहेको फापर र तोरीसँगै मौरी पालनमा जोड (फाेटा फिचर)

३ फाल्गुण २०८०/डिकेश लामा
झापाका केही स्थानीय तहले फापर र तोरी खेतीसँगै मौरी पालनमा जोड दिएका छन् । यस बर्ष गौरादह नगरपालिकाले अनुदानमा मौरी र मौरीको सहयोगमा बढी उत्पादन हुने बालीमा अनुदान दिए पछि खेती समेत दोब्बरले बृद्धि भएको छ । गौरादह नगरपालिकामा यस बर्ष फापर र तोरीको खेती झण्डै दोब्बरले बृद्धि भएको छ । खेतीका लागि सहयोगी मानिएको मौरी समेत किसानलाई वितरण गरे पछि उनीहरुमा थप उत्साह जागेको छ । गौरादह नगरपालिका वडा नं. १ का देविकुमार दहालका अनुसार पालिकाले रैथानेबाली फापर र तेलहन बाली तोरी खेतीमा अनुदान दिएर मौरी समेत उपलव्ध गराए पछि अन्तर सम्बन्ध रहेको बाली र मौरी पालनमा समेत टेवा पुगेको बताउनु भयो । यस्तै गौरादह नगरपालिका वडा नं. ३ का किसान रुद्रकुमार दहालका अनुसार मौरी पालन गर्ने किसानले फापर र तोरीमा चरन गर्दा दुवै किसानलाई लाभ पुगेको छ ।

तोरी या फापर खेतीमा मौरी चरन गर्दा बाली देखि किसानलाई पनि फाइदा हुने गर्छ । तोरीमा दाना लाग्नका लागि आवश्यक पर्ने परागसेचन प्रकृयामा मौरीले ठूलो सहयोग गर्दछ । बुझ्ने किसानले खेतीसँगै मौरी पालनमा जोड दिन थालेका छन् । अन्तरसम्बन्ध रहेको फापर, तोरी, तिल, फिलुङ्गो लगायतका बाली लगाउने ३३ जना किसानलाई मौरी वितरण गरिएको छ । गौरादह नगरपालिकाले यस बर्ष ७५ प्रतिशत अनुदानमा तोरी, फापर र मौरी उपलव्ध गराइएको कृषि शाखा प्रमुख शिव न्यौपानेले बताउनु भयो । अनुदान दिन थाले पछि किसानले समेत उत्साहित भएर खेती तथा मौरी पालन थालेको उहाँले बताउनु भयो ।

झापामा विगत भन्दा यस बर्ष फापर र तोरी खेती बृद्धि भएको छ । खेतीसँगै मौरी पालनमा जोड दिए पछि किसानलाई दोहोरो फाइदा भएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दक्षिणी झापाको गौरादहमा बाढीको जोखिम क्षेत्रमा धमाधम तारजाली सहितको बाँध निर्माण हुँदै (फोटा फिचर)
Next post यही फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने