गौरादहका महिलाहरुले थालेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)
२४ फाल्गुण २०८०/डिकेश लामा
५ बर्ष अघि सानो पूँजीबाट केही महिलाले थालेका लघु अचार उद्योगले पछिल्लो समय लाखौं लगानीमा उत्पादन थालेको छ । खाद्य गुणस्तर मापन गरेर बनाइने अचारको माग बढ्न थाले पछि स्थानीय क्षेत्रमा रोजगारी समेत सृजना भएको छ ।
५ बर्ष अघि घरेलु तथा साना उद्योगमा तालिम लिँदा नमूना अचार उद्योगका ६ जना महिलाले तालिममा हौसल्ला स्वरुप केही अचार प्राप्त गरे । जुन अचार विक्री गरेर १८ हजार रुपयाँ हात लाग्यो । त्यहि रकमबाट घरबाट शुरु गरेको अचार उत्पादन आज ३० लाख बढीको लगानीमा देशका विभिन्न भागमा विक्री हुन थालेको नमूना अचार लघु उद्योगकी अध्यक्ष सकुन्तला घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार अहिले ५ प्रकारका लघु उद्योगहरु संचालनमा आएका छन् । दुग्ध, अचार, पापड, चिप्स्, मस्यौरा लगायतका उत्पादनहरु गाउँघरमै हुन थाले पछि स्थानीय महिला दिदीबहिनीहरुले समेत रोजगार पाएका छन् ।
नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादह नगरपालिका वडा नं. ५ को नमूना एकिकृत खेतीमा महिलाहरुले ५ प्रकारका लघु उद्यम संचालन गर्न थालेका छन् । कृषि क्षेत्रमा उद्योग संचालनले रोजगारी सृजना गरे पछि स्थानीय महिलाहरुलाई समेत आर्थिक उपार्जनमा टेवा पुगेको छ । स्थानीय महिला कमला खनालका अनुसार आफूहरुले उद्योगमा काम गर्दा घर व्यवहार संचालनमा समेत टेवा पुगेको छ ।
घरको सानो कोठाबाट शुरु गरेको अचार उत्पादन अहिले आफैले गुणस्तर मापन देखि ल्याव परिक्षण समेत गर्न थालेका छन् । स्वीस सरकार अन्तर्गत संचालित सहज नामको संस्थाबाट एसओपी अर्थात कसरी स्वच्छ र स्वस्थ्यकर बनाउने भन्ने मापदण्ड समेत पुरा गरेर अचार बनाइने गरिएको उद्योगकी सहजकर्ता अनिमा भण्डारीले बताउनु भयो । संस्थाको सहयोगमा ल्याब समेत स्थापना गरेर महिलाले नै तालिम लिएर परिक्षण गर्न सक्ने भए पछि धेरै गुणस्तर र स्वास्थ्यवद्र्धक सामाग्री उत्पादन हुँदै आएको छ ।
अचार क्षेत्रमा लामो समय काम गर्नु भएका खगेन्द्र ढुङ्गानाले महिलाहरुको उत्पादन गरेको अचारको अवस्था र गुणस्तर मापनमा टेवा पुर्याउँदै आउनु भएको छ । निक्कै नाम चलेको ड्रुक, पैंचो लगायतका अचार उद्योगमा लामो समय काम गरेर अनुभव लिइ सक्नु भएका खाद्य प्राविधिक ढुङगानाले अझै पनि महिलाहरुले संचालन गरेको लघु उद्यमका उत्पादनको गुणस्तर मापन र स्वस्थ्यबद्र्धक उत्पादनका लागि सहयोग गर्दै आउनु भएको छ ।
देशमा केही अवसर छैन भन्नेहरुका लागि महिलाले घरको कामकाज भ्याएर थालेका लघु उद्यमले गर्नेका लागि गाउँघरमै बसेर पनि आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण देखाएको छ । स्वदेशमै गर्नेका लागि सरकारले समेत बजारिकरणमा सहयोग गरे विदेशबाट आयात हुने खाद्य सामाग्री घटाउन सकिने उद्यमी महिलाहरुको भनाइ छ ।
Welldone,thanks Dikesh ji.
thank you for your comment sir