मेशिनबाटै चैते धान रोपाईले किसानलाई सहजः शिवसताक्षीका किसानले याे बर्ष तेब्बर चैते धान खेती गर्दै

२७ फाल्गुण २०८०/डिकेश लामा

झापामा नयाँ प्रविधिको मेशिनबाट धान रोप्ने कार्यलाई थप विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले विऊ उत्पादन र रोपाईका लागि अनुदान दिए पछि यो बर्ष ठूलो क्षेत्रमा मेशिनबाट धान रोप्ने कार्य धमाधम हुन थालेको हो । शिवसताक्षी नगरपालिका वडा नं. ४ पाँचगाछीकी माया देवी पाण्डेले १२ बर्षको उमेर देखि नै पराम्परागत तरिकाले धान रोप्दै आउनु भएको थियो । एक विगाह क्षेत्रफलमा धान रोप्न झण्डै १५ देखि २० जना खेताला लगाउनु पर्ने ठाउँमा अहिले एक घण्टामै मेशिनले धान रोपेको देख्दा उहाँ दंग पर्नु भएको छ । जीवनमा यसरी मेशिनबाटै धान रोपेको हेर्न पाइन्छ भन्ने उहाँलाई लागेको थिएन । तर यसरी आफ्नै खेतमा मेशिनको प्रयोगबाट धान रोप्न पाउँदा उहाँलाई औधी खुशी समेत लागेको छ ।

उन्नत प्रविधि प्रदर्शन नामको कार्याक्रम अन्तर्गत यो बर्ष झापामा मेशिनबाट चैते धान रोप्ने कार्य थालिएको हो । ट्रेमा राखिएको विऊ मेशिनबाट सिधै रोपिने भए पछि किसानहरुलाई लागत र समयमा पनि धेरै टेवा पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार किसानलाई प्रविधिमैत्री खेती तर्फ उन्मुख गराउन विगत बर्ष देखि अनुदानमा यो कार्याक्रम संचालनमा ल्याइएको छ ।

शिवसताक्षी नगरपालिकामा यस बर्ष चैते धान रोपाई तेब्बरले बृद्धि भएको छ । नहरको पानी व्यवस्थापनसँगै धानको बजारीकरणमा समेत सुनिश्चितगरे पछि किसानहरु धान खेती तर्फ थप आकार्षित भएको नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा ‘रोशन’ ले बताउनु भयो । यस बर्ष किसान, मिल र नरपालिकाबीच सम्झौता गरी चैते धानको मुल्य प्रति मन न्यूनतम ९ सय र बजारमा उच्च भए सोही अनुसार मुल्य बृद्धि गरिने गरी काम अघि सारिएको उहाँले बताउनु भयो ।

झापाको शिवसताक्षी नगरपालिकामा यो बर्ष ७० विगाह क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्याक्रम समेत गरी झण्डै ३ हजार हेक्टरमा चैते धान रोप्ने काम थालिएको छ । प्रविधिमा स्थानीय सरकारलाई समेत सक्षम बनाउँदै धान खेती विस्तारका लागि थालिएको यो कार्याक्रमका लागि कृषि ज्ञान केन्द्र झापाले १० लाख रुपयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाका महिलाहरुले उत्पादन गरेको महले उचित बजार नपाउँदा समस्या (फाेटाे फिचर)
Next post इलाम क्षेत्र नं. २ मा पहिचान पक्षधरको छुट्टै उम्मेद्वार