खोला खोल्छीमा पाइने जंगली तिते फुलको प्रयोग बढ्दै (फाेटा फिचर)
१ चैत्र २०८०/डिकेश लामा
कुनै वेला त्यतिकै खोला खोल्छीमा खेर जाने जंगली तिते फुल बर्षेनी तेस्रो मुलुक जाने गरेको छ । २ बर्ष अघिसम्म प्रति केजी २ देखि ४ हजार रुपयाँसम्म विक्री भएको तिते फुल संकलन बढे पछि मुल्य भने घटेको छ ।
तरकारीको रुपमा खाँदा तितो हुने चुवाफुल वा तिते भनिने वैज्ञानिक जात एकानथासिया प्रजातिको फुलको फाइदा बुझ्नेहरुले तेस्रो मुलुकबाट पनि मगाएर खाने गरेका छन् । तर फुल संकलनमा ध्यान नदिँदा प्रयोग कर्ताको माग भने कम हुँदै गएको व्यवसायी तेन्छेदर भोटेले बताउनु भयो । भोटेका अनुसार गाउँघरमा तिते संकलन गर्नेले लार्पावाही गरेर संकलन गर्दा फुल भन्दा अन्य कुराको समेत मिसावट भए पछि तेस्रो मुलुकका प्रयोगकर्ताले गुनासो पोखेको बताउनु भयो । जसले गर्दा विगत बर्ष जस्तो धेरै माग हुन नसक्दा मुल्यमा गिरावट आएको उहाँले बताउनु भयो । पछिल्लो समय प्रति केजी १ हजार रुपयाँमा विक्री हुन नसकेको उहाँले बताउनु भयो । तर मुल्य घटे पनि विक्री भने भइरहेको उहाँले बताउनु भयो ।
खासगरी जानकारहरुले मात्र प्रयोग गर्ने यो फुल चुरे क्षेत्रका जंगलमा बढी पाइने गर्दछ । फाल्गुण महिना देखि चैत्रसम्म फुल्ने फुल टिपेर पनि कतिपयले राम्रो आर्थिक संकलन गर्ने गरेको चुरे क्षेत्रका बासिन्दा भक्तबहादुर राईले बताउनु भयो । राईका अनुसार केही बर्ष अघि अधिक माग र मुल्य भएको वेला चुरे क्षेत्रका कतिपयले राम्रो आम्दानीगरी जग्गा जमिन समेत खरिद गर्न सकेको उहाँले बताउनु भयो ।
गाऊँघरका मानिसले औषधीको रुपमा सब्जी बनाएर खाने तिते फुल खासगरी नेपालीभाषी भुटानी समुदायले अधिक प्रयोग गर्ने गर्दछन् । तेस्रो मुलुक पूनर्वास भएका भूटानीका कारण यो फुलले बजार पाएको फुल संकलन गर्दैै आउनु भएका अर्जुन राईले बताउनु भयो । राईका अनुसार विक्री भए पनि फुल संकलनमा भने निक्कै समस्या रहेको बताउनु भयो । अप्ठ्यारो भीरमा बढी पाइने भए पछि तिते फुल संकलनमा निक्कै समस्या हुने गरेको छ ।
विकिपिडियामा भएको रिसर्च अनुसार यो प्रजातिको फुलमा एन्टि प्याइरेटिक, हेपाटोप्रोटेक्टिभ, एन्टिअक्सिडेन्ट लगातयका अन्य धेरै तत्व हुने भएकाले जानकार मानिसले यसको प्रयोग गर्ने गरेका छन् । दम, खोकी, छालाको एलर्जी, प्रेसर, सुगर समेतमा प्रयोग गर्न सकिने तिते फुलको प्रयोगकर्ता बर्षेनी बढ्दै गएको जडिबुटी व्यवसायीहरुको भनाइ छ । यो फुललाई भारतमा बाघतिता पनि भनेर चिनिन्छ । हरियो मोटो पात रहेको प्रोथा आकारका मसिना बोटहरुमा चिस्यान भिरपाखामा बढी पाइने चुरे क्षेत्रका बासिन्दाले बताएका छन् ।