
२८ फाल्गुन २०७७, झापा– झापाको १५ स्थानीय तह मध्ये पहिलो पटक प्रज्ञा प्रतिष्ठान खोलेर साहित्यिक वुलेटिन प्रकाशन गर्ने दमक प्रज्ञा प्रतिष्ठानले भोलि शनिबार दुई वटा नियमित दुई प्रकाशनको लोकार्पण गर्ने भएको छ । प्रतिष्ठानको आज नगरपालिकामा बसेको वैठकले लोकार्पणका लागि सवै तयारी गरिसकेको प्रतिष्ठानका सचिव विष्णुप्रसाद न्यौपानेले बताउनु भयो ।

नगरसभा निर्णय अनुसार २०७५ मंसिर १ गते स्थापना भएको दमक प्रज्ञा प्रतिष्ठानले नगर भित्र भए गरेका साहित्य, विज्ञान, कला, भाषा तथा सँंस्कृति संरक्षण र विकासमा काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले बताउनु भयो ।

नगरमा यस अघि विभिन्न लोपोन्मुख भाषा तथा साहित्य संरक्षणमा बृहत कार्या पत्र प्रस्तुती समेत गरिसकेको प्रतिष्ठानले यस अघि कोयू जातिको भाषा तथा सँस्कृति सम्बन्धी खोजमुलक पुस्तक समेत प्रकाशन गरिसकेकाे छ । ९ कार्यसमिति सदस्य रहेको प्रतिष्ठानले थप १० जना परिषद सदस्यको २०७६ मंसीर ११ गते विस्तार गरेको बताइएको छ ।

भोलि नियमित रुपमा प्रकाशन गरिने अर्ध बार्षिक साहित्यिक प्रकाशन दमक बाल ज्योति र दमक ज्योति दमक नगरको हलमा विमोचन हुने प्रतिष्ठानका जेष्ठ परिषद् सदस्य पूर्व प्राध्यापक खेललाल पोखरेलले जानकारी दिनु भयो ।