कन्काईको झोलुङ्गे पुल बनाउँदा बनाउँदै भत्किँदा समस्या
५ वैशाख २०८१/डिकेश लामा
झापाको मध्य भागलाई लक्षित गरी बनाउन थालिएको झोलुङ्गे पुलको साइड पिलर बनाउँदा बनाउँदै भत्किएको छ । कन्काइ नदिमा निर्माणधीन पुल बनाउँदै गर्दा भत्किए पछि स्थानीय बासिन्दाले भोग्दै आएको समस्या अझै हट्न सकेको छैन । झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. ७ लालपानी गाउँ नै कन्काई नदिले छुट्याएको छ । नदिएको पूर्वी भागमा रहेको झण्डै ३ सय हाराहारी घरधुरी वडा कार्यालय जान जोखिम मोलेर नदि तर्नु पर्ने बाध्यता हुन्छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ लालपानीकी रेनुका प्रसाईका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जाँदा बर्षामा एक दिन माया मार्नु पर्ने हुन्छ । पुल बनेमा आधा घण्टामा पुग्ने वडा कार्यालय बर्खामा घुमेर जाँदा दिन वित्ने गरेको उहाँले दुखेसो पोख्नु भयो ।
संघीय सरकारले ३ बर्ष अघि ७ करोडमा लगाएको ठेक्काको म्याद १ बर्ष थप गरेर बनाउन थालिएको हो । ६ सय ४४ मिटर लामो झोलुङ्गे पुल यस बर्ष बनाउँदा बनाउँदै पिलरको साइड भत्किएको छ । पुरानो डलान माथि लगाएको पिलरको साइड नै भत्किए पछि केही दिन यता काम नै रोकिएको स्थानीय अगुवा लक्ष्मी सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष पिलरको साइड भाग डलाई गर्दा गर्दै भत्किए पछि काम नै रोकिएको छ ।
यता ठेक्काको जिम्मा लिएको पशुपति हरीहरी जेवीले भने आगामी असार मसान्तसम्म काम सक्ने गरी जनशक्ति परिचालन गरेको दावी गरेको छ । तर हालसम्म ५० प्रतिशत हाराहारीमा मात्र भएको काम यो बर्ष पनि नसकिँदा स्थानीय बासिन्दाले खेप्दै आएको सास्ती अझै नहट्ने सो क्षेत्रका शिक्षक हेमलाल आचार्यले बताउनु भयो । आचार्यको अनुसार हिउँदमा जसोतसो बाँसको पुलबाट हिडे पनि बर्षातको समयमा समस्या हुने गरेको छ ।
झापा जिल्लाको सवै भन्दा ठूलो कन्काई माइ नदिमा जिल्लाभर वारीपारी गर्ने एउटै मात्र विकल्प पूर्व पश्चिम महेन्द्र राजमार्गको पुल मात्र रहेको छ । यस बाहेक हुलाकी सडकको पुल र निर्माणधीय यो झोलुङ्गगे पुल समेत बनन्दा सयौं घर परिवारहरु बर्षातमा सास्ती भोग्न बाध्य छन् ।