झापाका यूवाहरु बगर खेतीमा कमाई गर्दै (फाेटाे फिचर)
५ वैशाख २०८१, डिकेश लामा
बर्षामा बाढी पस्ने र हिउँद बगर रहने क्षेत्रमा झापाका यूवाहरुले खेती गरेर मनग्ये आम्दानी गर्ने गरेका छन् । मेहनेत गर्न सक्नेले एक विगाहमा ३ देखि ५ लाख रुपयाँसम्म आम्दानी लिन सफल बनेका छन् । कन्काई नगरपालिका वडा नं. ५ का युवा जनार्दन मण्डलले यो बर्ष प्रति विगाह झण्डै १ लाख रुपयाँ खर्च गरेर ९ विगाहमा बगर खेती गरेका छन् । बगरमा काँक्रा, खरभूजा र करेला खेती गर्नु भएका उहाँले केही क्षेती भए पनि ३० देखि ४० लाख रुपयाँको कारोवार गर्ने अनुमान गरेका छन् । यस बर्ष शुरुवातको खरभूजा र काँक्रा उहाँले विक्री गर्न थाल्नु भएको छ । वेमौषमी बाढीले १ विगाह जति क्षति गरे पनि अरु क्षेत्रबाट राम्रै कमाई हुने उहाँले बताउनु भयो ।
मण्डल जस्तै कन्काई, मेचि, कमल लगायतका नदि तथा खोलाको बगरमा खेती गर्ने अरु धेरै छन् । तर वैमौषमी बर्षा र असिना पर्यो भने खेतीमा क्षति आउने गर्दछ । बगरमा खेती गर्ने कन्काई क्षेत्रमा मात्र २ सय भन्दा धेरै छन् । बगर खेतीले राम्रो रोजगारी समेत सृजना गरेको छ । जिल्लामा बाढीका कारण धनीपूर्जा भएको ४ हजार हेक्टर भन्दा बढी क्षेत्रफलका जमिन बगरमा परिणत भएको छ । भएको धान खेत बगर बने पछि त्यसैलाई सदुपयोग गर्दै हिउँदमा बगर खेती गर्ने गरेको किसानले बताएका छन् । कन्काई पुलमा साढ १० विगाह क्षेत्रफलमा खरभूजा खेती गर्नु भएका इश्वर माझी पनि यो बर्ष खरभूजा राम्रो उत्पादन भएको बताउनु भएको छ ।
उचित तटबन्ध हुन नसक्दा दक्षिणी झापाका सयौं विगाह जमिन बगर बनेका छन् । तर मेहनेत गर्न सक्ने युवा किसानले बगरबाटै पनि लाखौं रुपयाँ आम्दानी समेत गर्न सफल बनेको उनीहरुको भनाइ छ ।