सुपारी उत्पादनमा गिरावट आउँदा झापाका किसान मर्कामा (फाेटाे फिचर)
४ वैशाख २०८१/डिकेश लामा
नेपालको सवैभन्दा धेरै झापामा मात्र झण्डै ७ अर्वको कारोवार हुने सुपारीको मुल्य र उत्पादन यस बर्ष घटेको छ । विगत बर्षहरुमा सामान्यतया ७० देखि ८० रुपयाँ प्रति केजीमा काँचो सुपारी विक्री हुँदै आएकोमा यो बर्ष उत्पादनसँगै मुल्य समेत घटेको छ । झापाको खासगरी चुरे क्षेत्रसँग जोडिएका पालिका अर्जनुधारा, बुद्धशान्ति, मेचिनगर लगायतमा सुपारी अधिक खेती हुने गर्दछ । यस बर्ष धेरै किसानको सुपारी उत्पादनमा गिरावट आएको छ ।
हरियो डलर फलाउने भनेर सुपारी खेती गर्ने किसानलाई चिन्ने गरिन्छ । केही बर्ष अघि उत्पादन र मुल्य बढे पछि खेतीमा हौसिएका किसानहरु यो बर्ष भने मारमा परेका छन् । भने जस्तो उत्पादन हुन नसक्नु र मुल्य नपाउँदा किसानलाई समस्या भएको छ । अघिल्लो बर्ष ५० हजारमा ठेक्का लागेको बगान यो बर्ष २० हजारमा मात्र विक्री भएको बुद्धशान्ति वडा नं. १ की सुपारी किसान अम्बिका भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार अघिल्ला बर्षहरुमा काँचो सुपारी प्रति केजी ८० रुपयाँसम्म विक्री भएको भए पनि यो बर्ष ५५ रुपयाँ मात्र आफूले मुल्य पाएको बताउनु भयो ।
त्यसो त अन्नबाली भन्दा राम्रो आम्दानी लिन सकिने सुपारी खेती हजुरबुवाको पालामा रोप्दा नातीले समेत आम्दानी लिने गर्दछन् । एक पटक रोपे पछि ३० देखि ४० बर्षसम्म आम्दानी लिन पाइने खेती झापामा बर्षेनी बढ्दै गएको छ । ५ बर्ष देखि सुपारी खेती विस्तारका लागि झापामा सुपारी जोन कार्याक्रम समेत संचालनमा रहेको छ । जुन कार्याक्रम मार्फत किसानलाई सिंचाइ, प्शोधनका लागि मेशिनमा अनुदान उपलव्ध गराइएको छ । सुपारीको संभवना बढ्दै गए पछि जिल्लामा बर्षेनी खेती विस्तार हुनेक्रम बढेको नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारीले बताउनु भयो । तिवारीका अनुसार बर्षेनी सुपारीका विरुवाहरु ५० हजार देखि १ लाखसम्म उत्पादन भइरहेका छन् । ती विरुवाहरु अन्य जिल्लामा केही विक्री भए पनि आधा भन्दा धेरै झापामा नै रोपिने गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुपारी जोन कार्याक्रम मार्फत सुपारीमा अनुदानका कार्याक्रम संचालन हुँदै आएका छन् । यस्तै कृषि ज्ञान केन्द्रले समेत अनुदान दिन थाले पछि जिल्लामा उत्पादन भएको सुपारीलाई ब्राण्डिङ गरेर विक्री वितरण गर्न अनुदानको कार्यक्रम संचालनमा ल्याइएको केन्द्रका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार यो बर्ष पनि सुपारी प्रशोधनका लागि मेशिन खरिदमा अनुदानका कार्याक्रम संचालनमा ल्याइएको छ ।
तर अझै पनि नेपालमा उत्पादन भएको सुपारीको भने जस्तो बजारीकरण हुन सकेको छैन । विदेशबाट आउने सुपारी रोक्ने र नेपालको सुपारीको बजार फराकिलो बनाउने हो भने अर्वौ रुपयाँ नेपालमै सुरक्षित गर्न सकिने किसानको भनाइ छ ।