मलको व्यवस्थापन आफै गर्दै व्यवसायिक खेती गर्ने झापाका किसानहरू

७ वैशाख २०८१/ बालदिवश तामाङ
व्यवसायिक र दिगो खेती गर्ने किसानले पछिल्लो समय प्राङगरिक मलको प्रयोगलाई जोड दिएका छन् । माटो र पर्यावरणलाई समेत ध्यान दिँदै लामो सयम खेती गर्न आवश्यक मलको व्यवस्थापन समेत किसान आफैले गर्न थालेका छन् । झापाको झापा गाउँपालिका वडा नं. ३ का किसान चन्द्र बस्नेतले ३० विगाहमा केरा खेती गर्दै आउनु भएको छ । खेतीमा केही रासायनिक मलको प्रयोग गरे पनि उहाँले प्राङगरिक मल समेत आफै उत्पादन गरेर प्रयोग गर्दै आउनु भएको छ । उहाँले केराको थाम र केरा बगानका फोहोरहरुलाई गोवर र अन्य मलजन्य पदार्थसँग कुहाएर गड्यौला राखी मल बनाउँदै आउनु भएको छ । जुन मलले केराको उत्पादनसँगै माटोको अवस्थामा समेत राम्रो हुने बताउनु भयो ।

व्यवसायिकरुपमा खेती गर्दा माटोको अवस्था सुधारमा किसानले जोड दिने गरेका छन् । जसले गर्दा विरुवा र माटोलाई चाहिने भर्मिक कम्पोष्ट मल आफै उत्पादन गरेर प्रयोग गर्ने गरेको दमक नगरपालिका वडा नं. ९ मा संचालित सेतुमारी कृषि सहकारी संस्थाका कृषि संयोजक अर्जुन निरौलाले बताउनु भयो । निरौलाका अनुसार सरकारले ४ बर्ष अघि थालेको प्राङगरिक मिसन कार्याक्रम अन्तर्गत दिएको टनेल र भर्मिक गृहले गर्दा खेती गर्न सहज भएको छ । भर्मिक सेड बनाए पछि त्यसैमा गड्यौले मल बनाएर प्रयोग गर्ने गरेको बताउनु भयो ।

त्यसो त केही बर्ष यता प्राङगरिक खेती गर्ने किसानलाई लक्षित गरी सरकारले समेत प्राङगरिक मल उत्पादनमा जोड दिएको छ । रासायनिक मलको प्रयोगलाई कम गर्दै जान व्यवसायिक खेती गर्ने किसान तथा कृषि समूहबीच अनुदानको कार्याक्रम समेत संचालन गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अघिल्लो आर्थिक बर्षमा २ वटा कृषि फार्मलाई मल उत्पादनका लागि उद्योग संचालन गर्न १ करोड रकम अनुदान स्वरुप उपलव्ध गराइएको छ ।

दिर्घकालीन योजना बनाएर व्यवसायिक खेती गर्ने किसानले पछिल्लो समय रासायनिक मलको प्रयोगलाई घटाउँदै लगेका छन् । लामो समयसम्म खेती गर्न प्राङगरिक विधि उतम विकल्प भएकाले यस तर्फ जोड दिएको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाका यूवाहरु बगर खेतीमा कमाई गर्दै (फाेटाे फिचर)
Next post हात्तीको क्षतिपूर्ती माग गर्ने संख्या बढ्दैः एक करोड बढी रकम भुक्तानी हुन बाँकी