इलाम  र बझाङमा शनिवार उपनिर्वाचन हुँदैछः निर्धक भएर मतदानमा सहभागी हुन अपील

१४ बैशाख २०८१, सारासन्देश समाचार– इलाम  र बझाङमा भाेलि शनिवार विहान देखि मतदान हुँदैछ ।  शनिबार हुने उपनिर्वाचनमा १२ वटा विभिन्न दल र ७ जना स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस्तै बझाङमा ११ जना उम्मेद्वार चुनावी मैदानमा रहेका छन् ।

१ लाख १६ हजार ८८९ मतदाता रहेका इलाम २ मा ८९ मतदानस्थल र १४९ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन अधिकृत फुयालका अनुसार निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री बुधबार नै सबै मतदानस्थलहरुमा पठाइएको छ । निर्वाचन गराउन इलाम २ का लागि ७४५ जना कर्मचारी खटाइएको छ भने निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालित छन् ।

यसैगरी, बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं -१ अन्तर्गतका ७४ मतदान स्थलमा ९३ मतदान केन्द्र छन् । उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा -१ मा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिई सकिएको समेत सहायक प्रवक्ता रामदत्त पाण्डेयले अाज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा मकै खेती र उत्पादन बर्षेनी बढ्दै (फाेटाे फिचर)
Next post इलाममा ६० प्रतिशत मतदान (फाेटाे फिचर)