पत्रकार घिमिरेमाथि दुर्व्यवहार गर्ने थापाले मागे माफी
२४ वैशाख २०८१, झापा– समाचार लेखेको विषयमा पत्रकार महासंघ झापाका सदस्य चिरञ्जीवी घिमिरेलाई धम्की दिने निर्माण व्यवसायी विनोद थापाले माफी मागेका छन् । थापाले सोमबार इलाका प्रहरी कार्यालय दमकमा माफी मागेका हुन् । पत्रकार महासंघका प्रतिनिधि तथा पत्रकारजन्य विभिन्न संगठनका प्रतिनिधिसँगको छलफलपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् ।
शनिबार नयाँ पत्रिकाको अनलाइन संस्करणमा ‘जनप्रतिनिधिकै सहयोगमा मावा नदीको अवैध दोहन, स्थानीयलाई ठेकेदारको धम्की’ शीर्षकमा समाचार प्रकाशनपछि आइतबार थापाले घिमिरेलाई फोन गरेर धम्की दिएका थिए । पत्रकार घिमिरेमाथि भएको दुर्व्यवहारको पत्रकार महासंघलगायत पत्रकारजन्य संघसंस्थाले विज्ञप्ति निकाल्दै भर्त्सना गरेका थिए । थापाले माफी माग्दै कानुनविपरीत पत्रकारलाई धम्की दिएकोमा गल्ती महसुस भएको बताउनु भयाे । ‘विज्ञप्तिमा अब उप्रान्त थापाबाट पत्रकार घिमिरेमाथि कुनै पनि रिसिइभी नराखी स्वतन्त्र पत्रकारिताको सम्मानमा उभिन तयार उल्लेख्य गरिएकाे छ । आफूले आवेगमा आएर पत्रकार घिमिरेलाइ गाली गलाैज गर्न पुगेकाे बताएका छन् ।
छलफलमा नेपाल पत्रकार महासंघ काेशी प्रदेशका काेषाध्यक्ष विमल लामिछाने, जिल्ला सचिव डिकेश लामा, प्रेस यूनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, प्रेस चाैतारीका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठनका पूर्व झापा जिल्ला अध्यक्ष अनिलदेव राई, पत्रकार मंच दमकका अध्यक्ष कमन देवान लगायतका पत्रकारकाे उपस्थितिमा छलफल भएकाे थियाे ।