पूर्वाधार विकासका लागि बजेट नरोक्न पूर्व प्रधानमन्त्री ओलीको अनुरोध

पूर्व पश्चिम सडकको स्तरोन्नती शिल्यान्यास


९ जेष्ठ २०८१/झापा
पूर्वाधार विकासमा समयमा भुक्तानी दिएर विकासलाई उच्च प्राथमिकता दिन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार समक्ष आग्रह गर्नु भएको छ । पूर्वी नेपालको काँकडभिट्टा देखि लौकहीसम्म ९५ दशमलव ७६ किलो मिटर सडक स्तरोन्नतीको आज कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुँगीमा भएको कार्याक्रममा शिल्यान्यास गर्दै उहाँले अर्थतन्त्र चलायमान बनाउन पूँजीगत खर्च गर्दा देश विकास देखि आर्थिक क्षेत्रमा टेवा पुग्ने बताउनु भयो । यस्तै उहाँले निर्माण कम्पनिले समेत काममा चुस्तता र समय सक्न सुझाव दिनु भयो । सरकारले भएको कामको समयमा नै निर्माण कम्पनिको भुक्तानी गरे विकासले थप तिव्रता पाउने बताउनु भयो ।


बंगालादेशको ढाकादेखि भारत हुँदै नेपाल जोडिने एशियाली हाइवे निर्माण समयमै सक्नु पर्नेमा अन्य बक्ताहरुले जोड दिएका छन् । शिल्यान्यास कार्याक्रममा संघीय सरकारका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुविर महासेठले अध्यक्ष ओलीको तारिफ गर्नु भएको छ । उहाँले अहिले देशमा भइरहेको विकासको सोच र मोडल नै ओली प्रधानमन्त्री हुँदा बनाइएको मोडलको आधारमा विकास भइरहेको समेत दावी गर्नु भयो ।
तर यता सडक स्तरोन्नतीको समेत शिल्यान्यास गर्नु कामको जस लिने असान्द्धर्भिक कार्याक्रम भएको स्थानीय बासिन्दाले बताएका छन् । आज शिल्यान्यास भएको सडक स्तरोन्नतीको काम भने ४ महिना अघि नै ठेक्का लागेर धमाधम काम भइरहेको छ ।
कार्याक्रममा एशियाली विकास वैंक नेपालका निर्देशक अर्नाउड कौकोइस, मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सडकको काम गुणस्तरीय ढंगबाट समयमै सक्न निर्माण कम्पनिलाई निर्देशन समेत दिनु भएको छ ।
काँकडभिट्टा लौकही सडक खण्ड स्तारोन्नतीका लागि ५ खण्डमा गत फाल्गुन महिनामा ठेक्का लागि ३ बर्षमा सक्ने गरी झण्डै ३० अर्व बजेट खर्च हुने आयोजनाले जनाएको छ । यतिखेर रुख हटाएर सडक विस्तार हुने काम समेत धमाधम भइरहेको छ । एशियन राजमार्गमा ५ वटा प्याकेजमा लागेको ठेक्काबाट ३ सय ३३ वटा बक्स कल्भर्ट, २ सय ५१ वटा माइनर पुल, ४६ वटा मेजर पुल र ३० वटा स्पेसल पुल बन्ने मन्त्रालयका सचिव सिग्देलले जानकारी दिनु भयो । यस्तै शहरी क्षेत्रमा ६ लेन र अर्थ शहरी क्षेत्रमा ४ लेनको सडक बन्ने उहाँले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा अवैध काठ र गाडी लिलामबाट ३४ लाख राजश्व
Next post मेची भन्सारमा लक्ष्य भन्दा कम राजश्व असुली