झण्डै १७ लाख जेष्ठले लगाए खाेप
५ चैत्र २०७७, काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २ सय २७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएकाे स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले जनाएकाे छ ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिनुभयो । सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो ।
विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थिगित गरिएकाे छ ।
अहिलेसम्म भारत सरकारबाट अनुदानमा १० लाख मात्रा र नेपाल सरकारले आफैं खरिद गरेको १० लाख मात्रा खोप ल्याई लगाइएको छ । यसअघि पहिलो चरणमा सञ्चालन भएको खोप अभियानमा चार लाख २९ लाखले खोप लगाएका थिए ।
खोप शाखाका प्रमुख डा गौतमले सरकारसँग अझै सात लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिनुभयो । उहाँका अनुसार मौज्दात खोप पहिलो चरणमा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिनका लागि राखिएको छ । दोस्रो मात्रा आगामी वैशाख ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिइएकाे छ ।