रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)

१७ भदौ २०८१/डिकेश लामा

झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम राजमार्ग आसपासका रुखहरुमा यस अघि प्रजनन् गर्ने ठूलो बथानका चराहरु सडक स्तरोन्नती गर्नेक्रममा रुख काटिँदा समस्यामा परेका छन् । रैथाने चरा जलकवुवा र १४ प्रकारका बकुल्लाले खासगरी समुहमा वसेर असार देखि भदौ अन्तिमसम्म प्रजनन् गरी बच्चा हुर्काउने काम गर्दछन् । तर बर्षेनी उनीहरुको बास स्थानमा अतिक्रमण हुन थाले पछि चराको प्रजनन्मा समस्या आएको छ । जसका कारण केही बर्ष अघि ठूलो बथानमा आउने चरा घट्दै गएको चरा प्रजनन् क्षेत्र दमक सडक डिभिजन कार्यालय परिसरमा लामो समय देखि काम गर्दै आउनु भएका कर्मचारी चन्द्रप्रसाद ताजपुरियाले बताउनु भयो । ताजपुरियाका अनुसार ठूला रुखहरु कटान भएकाले आयतित चराको संख्या घट्दै गएको छ । यस्तै पछिल्लो समय भइरहेको जलवायु परिवर्तनले पनि ठूलो समस्या पारेको उहाँले बताउनु भयो ।

कतिपय अवस्थामा शिकारीले लुकीछिपी चरा मार्ने गरेकाले पनि एकान्त र सुरक्षित स्थल चराकाे राेजाइमा पर्ने गरेकाे छ । सडक डिभिजन कार्यलय दमक घेराबारामा रहेकाले धेरै चराहरूकाे प्रजनन् क्षेत्र बन्न पुगेकाे छ । तथापी कहिले काँही चाेरी शिकारी हुने हुँदा कर्मचारीले सुरक्षा दिने गरेकाे कार्यालयमा २६ बर्ष देखि काम गर्दै अाउनु भएका रेवतीरमण काेइरालाले बताउनु भयाे ।

पूर्व पश्चिम राजमार्गलाई एशियन मार्गमा स्तरोन्नती गर्दा झापा खण्डमा मात्र झण्डै ५ हजार रुखहरु कटान भएका छन् । रुख कटान गरे पछि चराको बाससँगै प्रजनन् स्थान समेत नष्ट भएको छ । झण्डै ९ सय प्रजातिको चरा पाइने नेपालमा पछिल्लो समय जलबायु परिवर्तन र जंगल क्षेत्र घट्दै जाँदा चराको प्रजनन् समयमा नै प्रभाव परेको लामो समय देखि चरा सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आउनु भएका मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले बताउनु भयो । खरेलका अनुसार यस बर्ष पूर्व पश्चिम राजमार्गका धेरै रुख कटान भएकाले विगतमा प्रजनन् गर्ने चराहरु अन्यत्रै गएका छन् । मानवले उत्पादन गरेको ध्वनी प्रदुषण, चर्को लाइट र अन्य कारणले पनि चराहरुको प्रजनन् प्रकृयामा समस्या भएको छ । केही चराहरु अति गर्मी हुन थाले पछि पहाडी क्षेत्र तिर सर्न थालेको उहाँले बताउनु भयो ।

झापाको मेची नगर देखि झापा र मोरङको सिमानामा रहेको मावा खोलासम्म ५२ दशमलव ७ किलो मिटर क्षेत्रमा ४ हजार ७ सय बढी रुखहरु काटिएका छन् । रुख काटिएको क्षतिपुर्ती बन विकास कोषमा पूर्वी खण्डका लागि १ करोड ९० लाख रुपयाँ जम्मा समेत भएको छ । तर पुन रुख रोप्ने कार्य सडक विस्तारसँगै गरे पर्यावरणमा भएको क्षतिपुर्ती चाँडो हुने डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनु भयो ।

झापाको काँकडभिट्टा, धुलाबारी, चारआली, चन्द्रगढी, दमक लगायतका सरकारी कार्यालयका परिसर र पूर्व पश्चिम राजमार्ग आसपासका रुखहरु समूहमा प्रजनन् गर्ने चराको मुख्य प्रजनन् क्षेत्र हो । तर पछिल्लो समय रुख कटान र सिमसार क्षेत्र संरक्षण हुन नसक्दा चरामा परेको प्रभावले पर्यावरणमा विस्तारै क्षति पुग्दै गएको चरा सम्बन्धीका विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
Next post झापामा ड्राइगन फल उत्पादनमा गिरावट