एक नम्बर प्रदेश सरकार पुर्नगठनः २ राज्यमन्त्री सहित ६ जना मन्त्री थपिए
१३ चैत्र ०७७, विराटनगर– प्रदेश नम्बर एक सरकारकाे आज पूर्नगठन गरिएकाे छ । २०७४ साल फागुन ३ गते प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठित मन्त्रिपरिषदमा ४ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको हाे।
नवगठित मन्त्री परिषदमा टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, उषाकला राई सामाजिक विकास मन्त्री र अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । यसैगरी राजकुमार ओझा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र कला घले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री हुनुभएको छ ।
विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रम बीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई र मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएकाे छ ।
पुनर्गठनपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । यस अघि नेकपाको विवादका क्रममा २ जना मन्त्री र २ जना राज्यमन्त्रीले राजीनामा दिनुभएको थियो । राम बहादुर मगर र अम्बिर बाबु गुरुङ यस अघिको सोही मन्त्रालयमा राज्यमन्त्री हुनुहुन्थ्यो ।
माओवादी केन्द्रबाट निर्वाचित टंक आङबुहाङ यस अघि नेकपाका उपनेता हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र परित्याग गरी एमालेमा आउनुभएको हो ।