स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा
शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि बेलडाँगी शरणार्थी शिविरमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुले स्थानीयसँग गरेको सामुहिक खेतीबाट जिविकोपार्जनमा समेत टेवा मिल्न थालेको छ ।
दातृ निकायले आवश्यक जमिन, मल र विऊ विजन अनुदानमा उपलव्ध गराए पछि भूटानी शरणार्थीले स्थानीयसँग मिलेर कृषि कर्म गर्न थालेका छन् । खेती गर्ने जमिन पाए पछि तरकारी खेतीमा जुटेका शरणार्थीहरुले खेतीको शीपसँगै स्थानीय बासिन्दासँग सम्बन्ध समेत विस्तार गरेका छन् । बेलडाँगी शरणार्थी शिविरका मनिसर मगरका अनुसार मान सरोवार कृषि सहकारी संस्थाले उपलव्ध गराएको टनेल सहितको जग्गामा रोपेको काँक्रा, बोडी, साग लगायतका तरकारी खेती गरेर आम्दानी समेत गर्न थाल्नु भएको छ । उहाँका अनुसार दिनमा खाना खान जाने बाहेक सँधै खेतीमा रहँदा स्थानीय अन्य किसानसँग समेत चिनजान र सम्बन्ध विस्तार हुँदै गएको छ ।
स्थानीय र शरणार्थी गरी बराबरीको संख्यामा ५० जना माझ खेतीको शीप बृद्धिसँगै जिविकोपार्जन कला सिकाउन तरकारी खेती थालिएको छ । २ बर्ष देखि थालिएको खेतीबाट पछिल्लो समय आम्दानी समेत लिन थालेकाले खेतीमा धेरै उत्साह मिलेको खेतीमा समन्वय गर्दै आएको मानसरोवर संस्थाका व्यवस्थापक महेन्द्र अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार ५० जना किसानका समूहमा सहभागी किसानले खेतीमा सफलता मिल्दै जान थाले पछि थप उत्साहित भएका छन् । यो परिक्षण कृषि योजनालाई बृहत बनाउन सके शरणार्थी र समूदायमा सद्भावमात्र विस्तार नभई भुटानीलाई जिविकोपार्जन गर्न पनि सहज हुने बताउनु भयो ।
शुरुमा मानसरोवारको २ विगाह क्षेत्रमा थालेको खेती खेती गर्ने शिप सिके पछि अपुग हुन थालेको छ । शरणार्थीलाई स्ववलम्बी बनाउन थालिएको कार्याक्रम बृहत बनाउन सकिए जिविकोपार्जनमा टेवा पुग्ने खेतीमा लाग्नु भएका शरणार्थी बस्ती व्यवस्थापनका सचिव सन्चहाङ सुब्बाले बताउनु भयो । सुब्बाका अनुसार सहयोग दातृ निकाय यूएनएचसीआर र आइएलओले थप बृहत योजना संचालन गर्न सके भुटानी शरणार्थीमा दिर्घकालिनरुपमा गरिखाने मेलो मिल्ने बताउनु भयो ।
दातृ निकाय यूएनएचसीआर मार्फत अन्तराष्ट्रिय श्रम संगठनले उपलब्ध गराएको अनुदानले शरणार्थीहरुले २ बर्ष देखि तरकारीबालीको खेती गर्दै आएका छन् । खेतीले आम्दानी मात्र नभएर शरणार्थी र स्थानीयबीच सद्भाव र सम्बन्ध समेत विस्तार भएको उनीहरुको भनाइ छ ।