झापामा संचालित नेपाली हाते कागज उद्योगहरु धमाधम बन्द हुँदै (फाेटाे फिचर)
२७ कार्तिक २०८१/डिकेश लामा
कच्चा पदार्थको अभाव र बजारमा समस्या आएसँगै झापाका घरेलु नेपाली हाते कागजका उद्योगहरु बन्द हुन थालेका छन् । कागज उत्पादनका लागि आवश्यक कच्चा पदार्थको अभावले गर्दा दर्जन बढी उद्योगहरु बन्द भएका छन् । उत्पादित कागजको मुल्य बृद्धि नहुनु र आवश्कय कच्चा पदार्थको मुल्य बृद्धिले उद्यमीहरु मारमा पर्दै जान थालेका छन् । यता सरकारी कार्यालय पनि भारतीय कागजको प्रयोजलाई प्राथमिकता दिन थाले पछि थप समस्या आएको उद्यमीहरुको गुनासो रहेको छ ।
केही बर्ष अघिसम्म नेपालको सवै भन्दा धेरै नेपाली हाते कागज उत्पादन हुने झापामा कच्चा पदार्थको अभाव हुन थालेको छ । अभावका बीच उत्पादन भएका कागजले समेत उचित मुल्य र बजार पाउन नसक्दा उद्योगहरु बन्द हुन थालेको उद्योग संचालक समेत रहनु भएका विर्तामोड नगरपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण अविरल खरेलले बताउनु भयो । खरेलका अनुसार हालसम्म आफूहरु जेनतेन टिकिरहेको भए पनि कतिपय बन्द भइसकेको बताउनु भयो । उद्योगले उत्पादन गरेको कागजको भुक्तानी व्यापारीबाट सहि समयमा नहुनु र आर्थिक चलायमान कम हुनुले पनि उद्योगहरु संकटमा पर्दै गएको उहाँले बताउनु भयो ।
त्यसो त जिल्लाका केही उद्योगले पराम्परागत शैलीलाई आधुनिकीकरण गर्दै कागज उत्पादनलाई थप जोड दिन थालेका छन् । जसका कारण स्थानीय क्षेत्रमा ठूलो संख्यामा रोजगारी समेत सृजना भएको छ ।
तर विगत जस्तो धेरैले भने रोजगार पाउन सकेका छैनन् ।
पछिल्लो समय पहाडी जिल्ला इलाम, पाँचथर र तेह्रथुमबाट आउने अरगेली र लोक्ताहरुको मुल्य बढ्दै गएको छ । यता यो बर्ष असोज महिनामा आएको बर्षा र बाढीले चीनसँग जोडिएका सडक र नाका अवरुद्ध हुँदा नेपाली कागजको बजारमा थप समस्या आएको मेची सिटौला ह्याण्डी क्राप्ट उद्योगका संचालक तेजप्रसाद सिटौलाले बताउनु भयो । सिटौलाका अनुसार दशैं अघि चाइनाका लागि कागज बोकेर गएको ट्रक अझै पनि चाइनाको सिमाना केरुङमा रोकिएको बताउनु भयो ।
झापा जिल्लामा अझै पनि २ दर्जन हाराहारीमा नेपाली हाते कागज उद्योगहरु संचालनमा रहेका छन् । सरकारले उद्योग संचालनका लागि आवश्यक कच्चा पदार्थ ढुवानी र बजार व्यवस्थापनमा सहयोग नगर्ने हो भने घरेलु उद्योगहरु संकटमा पर्ने उद्योगीहरुको भनाइ छ ।