झापामा धान उत्पादनसँगै मुल्य घट्दा किसान मारमा

१ मंसीर २०८१/डिकेश लामा

नेपालकै सवै भन्दा धेरै ४ लाख मेट्रिक टन बढी धान उत्पादन हुने झापामा यस बर्ष उत्पादनमा गिरावट आउने देखिएको छ । घाम पानी नमिल्दा धान उत्पादन घटेसँगै उचित मुल्य समेत पाउन नसक्दा किसानहरु चिन्तित बनेका छन् । साउन र भदौमा अत्याधिक घाम लागेको र असोजमा वेमौषी भारी बर्षाले गर्दा धान उत्पादन घटेको हो । तर पनि मुख्य ठूला चाड पर्वहरु सकिन साथ झापाका किसानलाई यतिखेर धान थन्काउने चटारो परेको छ । जलवायु परिवर्तनका कारण यस बर्ष पानी र घामको तालमेल नमिल्दा वेमौषमी बर्षा र अधिक घामका कारण धान उत्पादन हुन नसकेको कन्काइ नगरपालिका वडा नं. ६ का किसान गुणप्रसाद तिम्सिनाले बताउनु भयो । तिम्सिनाका अनुसार किसानले भने जस्तो अनुदान र सहयोग नपाएकै कारण खेतीबाट पलायन हुँदै जानु परेको छ । ७२ बर्षीय तिम्सिनाले १८ बर्षको उमेर देखि हलो चलाएर खेती गर्दै आएको अनुभव सुनाउनु भयो । तर कृषि पेशाले उभो नलगाएकै कारण पूर्खाले जोडेको धेरै जमिन विक्री गर्नु परेको गुनासो पोख्नु भयो ।

असोज महिनाको दोस्रो साता परेको अविरल बर्षा र बाढीले झापामा झण्डै ४ सय हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति गरेको छ । धानलाई पानी चाहिने वेला नपरेकाले उत्पादनमा गिरावट आएको किसानले बताएका छन् । झापाको झापा गाउँपालिका र गौरीगंज क्षेत्रमा यस बर्ष बाढीका कारण धेरै धान नष्ट भएको छ । गौरीगंज १ हुलाकी सडक उत्तर तर्फबाट कन्काइ नदिको भङगालो चौरी र झोडा बस्ती तर्फ पस्दा सयौं विगाह धान खेती बगर बनेको स्थानीय अगुवा इश्वर माझीले बताउनु भयो ।

अघिल्लो बर्ष सरकारले तोकेको समर्थन मुल्य भन्दा उच्च मुल्यमा धान विक्री गर्न सफल भएका किसानले यो बर्ष थोरै मुल्यमा धान विक्री गर्नु पर्ने अवस्था आएको छ । यतिखेर प्रति मन १ हजार देखि १ हजार १ सय मुल्यमा धान खरिद गर्दै आएको लामो समय देखि धान खरिद विक्री गर्दै आउनु भएका सुरुङाका व्यवसायी लिलु अग्रवालले बताउनु भयो । अग्रवालका अनुसार यो सिजनको धानको मुल्य कम्तिमा १ हजार ३ सय र १ हजार ४ रुपयाँसम्म हुनु पर्ने हो । नत्र किसानलाई नै फाइदा नहुने बताउनु भयो । तर यो बर्ष धानको मुल्य अघिल्लो बर्ष जस्तो शुरुमा नै बृद्धि भएको छैन । अघिल्लो बर्ष भने मसिना धानको मुल्य प्रति मन १ हजार ७ सयसम्म पुगेको थियो ।

झापामा गत बर्ष चैते र बर्षे गरी झण्डै ९४ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यो बर्ष धान उत्पादनमा गिरावट आएसँगै मुल्य समेत नपाउदा किसानलाई समस्या हुने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कनकाईमा उपनिर्वाचनका लागि निर्वाचन कार्यालय स्थापना
Next post प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न