नेक व्लाष्टले चैते धान सखापः समयमा औषधी उपचार गर्न नपाउँदा धेरै किसान मारमा (भिडियाे कथा सहित)
भुसमात्र भएकाे धानकाे गावा काट्नु पर्ने बाध्यतामा किसान
२२ जेष्ठ २०७८/डिकेश लामा
झापाको कतिपय स्थानमा नेक व्लाष्ट रोगका कारण धेरै किसानको धान नष्ट भएको छ । धान पसाएर फल्ने वेला ढुसीबाट हुने यो रोग लागे पछि समय उपचार गर्न नपाउँदा धेरै किसानको धान नफलेको उनीहरुले गुनासो पोखेका छन् । लामो बजार बन्द भएका कारण कतिपय किसानले विषादी खरिद गरेर समयमा प्रयोग गर्न सकेनन् । जसका कारण चाँडो फैलने यो ढुसीबाट हुने नेक ब्लाष्ट अर्थात धानको बाला मुनि घाँटीमा सुक्ने र धान नफल्ने हुन्छ । गत बर्ष धेरै किसानले क्षति व्यवहोर्नु परेको कारण कतिपय किसानले जिल्लामै पहिलो पटक ठूलो संख्यामा किसानले कमल गाउँपालिकामा चैतेधानको बाली विमा समेत गरेका छन् । सरकारले दिने ७५ प्रतिशत र किसानले व्यवहोर्नु पर्ने २५ प्रतिशत रकम मध्ये पनि किसानले व्यवहोर्नु पर्ने रकमको आधा रकम गाउँपालिकाले तिरेको पालिकाको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।
यो बर्ष कमलमा भन्दा पनि दमकको दक्षिणी भूभागमा धेरै किसानको धान नष्ट भएको किसानले बताएका छन् । नेक ब्लाष्ट रोगका कारण बालामा चामाल नलाग्ने र सुक्ने भएकाले धेरै किसानको चैत धान यस बर्ष नष्ट भएको छ । रोगका कारण कतिपय किसानको धान पूर्णरुपमा क्षति भएको छ भने कतै उत्पादनमा भारी गिरावट आएको किसानले बताएका छन् । दमक वडा नं. १० का अगुवा किसान भङ्गासिंह राईका अनुसार कमलको धेरै भाग र दमकको दक्षिणी भूभागमा नेक ब्लाष्टको आक्रमण धेरै रहेको छ । १५ कठ्ठा जमिनमा अघिल्लो बर्ष ४५ मनसम्म धान फलेकोमा यो बर्ष १० मन पनि धान उठाउन नसकिने अर्का किसान प्रतिक्षा राईले बताउनु भयो ।
झापाको दमक, कमल लगायतका पालिकामा नेक व्लाष्टको आक्रमण अधिक रहेको छ । सवैभन्दा धेरै दमक नगरपालिकाको दक्षिणी भूभागमा सयौं विगाह जमिनमा नेक व्लाष्टले धान सखाप भएको स्थानीय अगुवा किसान केशव न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार ३ पटकसम्म धानमा विषादी लगाउँदा समेत धान विग्रिएको छ । उहाँले भन्नु भयो, “धान काटेर त्यतिकै लैजाओ भन्दा पनि कसैले धान नै लान मानेनन् । त्यतिकै जोत्न नमिल्ने भएकाले अर्को खेती गर्नलाई भए पनि भुस मात्र भएको धानको गावा काट्नु परेको छ ।”
चैते धान फल्ने वेला वातावरण प्रतिकुल हुँदा यो रोगले सताउने गर्छ । नेक व्लाष्ट रोग चाँडो फैलने प्रकृतिको भएकाले समयमा उपचार नगर्ने हो भने किसानले धान काट्नै नपर्ने गरी सखाप हुने गरेको कमल गाउँपालिकाको कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार गत बर्ष कमलमा अत्याधिक धेरै किसानको धान विग्रिएको थियो । तर यो बर्ष गत बर्षको तुलनामा केही रोग नियन्त्रणमा ल्याउन सफल भएको बताउनु भयो ।
झापामा ३ बर्ष यता बर्षेनी झण्डै २० हजार हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १ लाख मेट्रिक टन भन्दा धेरै चैतेधान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाको तथ्याङ्क छ । तर यो बर्ष कतिपय स्थानमा धानमा रोग लागेकाले किसानलाई धेरै समस्या भएको उनीहरुले गुनासो पोखेका छन् ।
भिडियाे कथा हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।